सडक नाटक

“परदेशको बाटो”

सुरक्षित आप्रवासन, सामाजिक सुरक्षा तथा पुनःएकीकरणसम्बन्धी जनचेतनामूलक सडक नाटक

पात्रहरू

  • Bal Krishna Khanal — Bikash सूत्रधार / सामाजिक अभियन्ता
  •  Chyangwa —  Laxman Nepal — कमेडी पात्र
  • Kalpana Poudel — सासु
  • Ankita Shrestha — बुहारी
  • Sofiya — फुलमाया
  • Ajaya Shrestha — राजु
  • Jiban Chaudhary — म्यानपावर व्यवसायी
  • Shankar Pandey — भकते गाउँले
  • अन्य गाउँलेहरू
  • दृश्य १

    गाउँको चौतारो

    (गाउँको वातावरण। महिलाहरू पानी बोकेर हिँडिरहेका। कोही घाँस काटिरहेका। बुहारी टाढा हेर्दै बसेकी।)

  • सासु:

    ए बुहारी!
    मैले गाउँभरि तँलाई खोज्दै हिँडेँ, तँ त यहाँ पो रहेछेस!
    मकैबारीमा बाँदर पसिसक्यो होला, अनि तँलाई यहाँ नाटक हेर्नु छ!

    बुहारी:

    आमा, एकछिन मात्रै।
    आज गाउँमा चेतनामूलक सडक नाटक आएको रहेछ।
    सबैले हेर्नुपर्ने कुरा हुन्छ रे।

  • सासु:

    मलाई नाटक-साटक हेर्ने फुर्सद छैन।
    घरमा कामको थुप्रो छ।
    तँलाई यता बसेर ताली बजाउन फुर्सद छ!

    बुहारी:

    आमा, सधैं काम मात्रै गरेर पनि त भएन नि।
    कहिलेकाहीँ सिक्ने कुरा पनि सुन्नुपर्छ।

    सासु:

    के सिक्ने?
    यहाँ बसेर पेट भरिन्छ?

    बुहारी:

    पेट भर्ने बाटो पनि त यहीँबाट सिकिन्छ कि!

    (मान्छेहरू हाँस्छन्।)

    सासु:

    अझै मुखमुखै लाग्छेस?

    (सासु झम्टिन खोज्छे।)

    बिकाश:

    पर्खनुस् पर्खनुस्!
    सासु-बुहारीको झगडा त हाम्रो गाउँघरको पुरानो रोग हो।
    तर आज हामी यहाँ झगडा बढाउन होइन, समाधान खोज्न आएका हौँ।

    दाजुभाइ दिदीबहिनीहरू,
    आजको नाटक तपाईंहरूकै कथा हो।
    हाम्रो गाउँको कथा।
    हाम्रो दुःखको कथा।
    र समाधानको खोजी पनि यहीँ छ।


    दृश्य २

    राजुको विदेश जाने तयारी

    (राजु झोला बोकेर आउँछ।)

    भकते:

    ओहो!
    राजु भाइ त निकै टलक्क परेर हिँडेको छ!

    लक्ष्मण:

    हेर हेर, यो त विदेश जाने फेसनमा रहेछ!

    राजु:

    हो त!
    अब गाउँमा बसेर के गर्नु?
    न काम छ, न कमाइ।
    विदेश जान पाए जीवन बन्ने थियो।

    भकते:

    सबैले त्यही भन्छन् भाइ।
    तर विदेशमा पैसा टिप्ने रुख हुँदैन।

    राजु:

    गाउँमा बस्दा के गर्ने त?
    कहिले बाँदरले बाली खाने,
    कहिले व्यापारीले भाउ नदिने।
    यता खेतमा पसिना बगायो, उता बजारमा अपमान सहनुपर्छ।

    गाउँले:

    त्यो त सही कुरा हो।

    राजु:

    हामीले आलु लगायौँ,
    बजारमा बेच्न जाँदा लागत पनि उठेन।
    टमाटर लगायौँ, सडकमा फाल्नुपर्‍यो।
    दूध बेच्न जाँदा उधारो मात्रै।
    अनि गाउँमा बस्न मन लाग्छ?

    लक्ष्मण:

    म त कुखुरा पाल्ने भनेर ऋण लिएको।
    दुई दिनमै स्यालले लग्यो!
    अहिले स्याल धनी, म गरिब!

    (सबै हाँस्छन्।)


    दृश्य ३

    फुलमायाको पीडा

    (फुलमाया बिस्तारै आउँछे। अनुहार उदास।)

    फुलमाया:

    राजु, विदेश जानु अघि हजारपटक सोच।
    म पनि सपना बोकेर गएकी थिएँ।

    राजु:

    तर तपाईं त धेरै पैसा कमाएर फर्किनुभएको होला नि?

    फुलमाया:

    पैसा?
    मेरो शरीर र आँसु मात्रै फर्कियो।

    (मञ्च शान्त हुन्छ।)

    मलाई राम्रो काम भनेर लगियो।
    तर त्यहाँ पुगेपछि काम अर्कै।
    बोल्न पाइँदैन।
    रोए पनि सुन्ने कोही हुँदैन।
    दिनरात काम।
    बिरामी हुँदा पनि काम।

    बुहारी:

    त्यति दुःख?

    फुलमाया:

    दुःख मात्रै भए सहिन्थ्यो।
    त्यहाँ त मान्छेलाई मान्छे जस्तो पनि व्यवहार हुँदैन रहेछ।

    राजु:

    अनि फर्किनुभयो कसरी?

    फुलमाया:

    बिरामी परेपछि।
    काम गर्न नसकेपछि।
    त्यो देशले पनि फालिदियो।
    यहाँ आउँदा गाउँलेले “विदेशबाट आएकी” भनेर हेरे,
    तर मेरो पीडा कसैले बुझेन।


    दृश्य ४

    म्यानपावर कार्यालय

    (जिवन चौधरी कुर्सीमा। ठूलो कुरा गर्दै।)

    जिवन:

    आऊ भाइ!
    कतार, दुबई, मलेसिया—जहाँ चाह्यो त्यहीँ पठाइदिन्छु।
    दुई महिनामै लाखौँ कमाइ!

    राजु:

    साँचै?

    जिवन:

    हो!
    अहिले पैसा देऊ।
    भोलि उडाइदिन्छु।

    बिकाश:

    कस्तो कम्पनी हो?

    जिवन:

    ठूलो कम्पनी!

    बिकाश:

    तलब कति?

    जिवन:

    राम्रै!

    बिकाश:

    सम्झौता पत्र?

    जिवन:

    पछि हुन्छ।

    बिकाश:

    बीमा?

    जिवन:

    हुँदै गर्छ।

    बिकाश:

    श्रम स्वीकृति?

    जिवन:

    त्यो पनि मिल्छ।

    बिकाश:

    हेर्नुभयो?
    यस्तै अस्पष्ट कुरा गरेर धेरै युवालाई ठगिन्छ।
    विदेश जानुअघि सबै कागज बुझ्नुपर्छ।
    कानुनी प्रक्रिया पूरा गर्नुपर्छ।


    दृश्य ५

    गाउँको वास्तविक समस्या

    राजु:

    ठीक छ, विदेशमा दुःख छ।
    तर गाउँमा बसेर के गर्ने?
    हामीलाई कसैले बाटो देखाइदिएको छ?

    गाउँले:

    त्यो त सही कुरा हो।

    राजु:

    भिरपाखामा खेती गर्‍यो—बाँदरले खायो।
    बजारमा बेच्न गयो—भाउ पाइएन।
    अनि युवाले विदेश नजाऊन् भनेर मात्रै हुन्छ?

    (सबै चुप लाग्छन्।)

    बिकाश:

    प्रश्न ठीक हो।
    अब उत्तर पनि सुन्नुपर्छ।

    हामीले खेती पुरानै तरिकाले मात्रै सोच्यौँ।
    अब समय बदलिएको छ।

    भकते:

    कसरी?

    बिकाश:

    जहाँ बाँदर धेरै लाग्छ,
    त्यहाँ बाँदरले नखाने खेती गर्नुपर्छ।

    गाउँले:

    जस्तो?

    बिकाश:

    अदुवा।
    बेसार।
    लसुन।
    प्याज।
    अलैँची।
    कागती।
    जडीबुटी।
    लेमनग्रास।
    चिराइतो।
    कुरिलो।

    बुहारी:

    त्यो त राम्रो भाउमा पनि बिक्छ नि!

    बिकाश:

    हो।
    अनि भिरपाखामा फलफूल लगाउन सकिन्छ।
    कागती, सुन्तला, एभोकाडो, आँप, लिची।

    आँखाले देखिने ठाउँसम्म तरकारी, फलफूल र पशुपालन।
    आँखाले नदेखिने भिरपाखामा जडीबुटी खेती।

    लक्ष्मण:

    अनि बाँदर आयो भने?

    बिकाश:

    बाँदरले बेसार खाँदैन।

    लक्ष्मण:

    त्यसो भए म पनि बेसार जस्तै पहेँलो लुगा लगाएर खेत जान्छु!

    (सबै हाँस्छन्।)


    दृश्य ६

    आधुनिक खेतीको कुरा

    बिकाश:

    आजको खेती पुरानो जस्तो छैन।
    मोबाइलबाट बजार हेर्न सकिन्छ।
    सिधै ग्राहकसम्म बेच्न सकिन्छ।

    गाउँले:

    हामीले त कहिल्यै सोचेका थिएनौँ।

    बिकाश:

    विदेशबाट फर्किएका युवासँग सीप हुन्छ।
    त्यो सीप गाउँमै प्रयोग गर्नुपर्छ।

    फुलमाया:

    हो।
    विदेशमा सिकेको अनुशासन, मेहनत र सीप गाउँमा लगाउन सके धेरै गर्न सकिन्छ।

    राजु:

    तर लगानी?

    बिकाश:

    सरकारका कार्यक्रम छन्।
    सहकारी छन्।
    समूह खेती गर्न सकिन्छ।
    एक्लै होइन, मिलेर काम गर्नुपर्छ।

    भकते:

    हामीले पनि गाउँमा बाख्रा पालन सुरु गर्न सक्छौँ।

    बुहारी:

    महिलाले अचार, गुन्द्रुक, मसला बनाउने उद्योग गर्न सक्छौँ।

    सासु:

    ए, त्यो त म पनि सक्छु नि!

    लक्ष्मण:

    हजुरआमाको अचार विदेश पुगे भने त डलर आउँछ!

    (सबै हाँस्छन्।)


    दृश्य ७

    अन्तिम निर्णय

    राजु:

    आजसम्म मलाई विदेश मात्रै बाटो जस्तो लाग्थ्यो।
    तर अब गाउँमै पनि सम्भावना रहेछ भन्ने लाग्यो।

    फुलमाया:

    विदेश जानै परे पनि सुरक्षित तरिकाले जाऊ।
    नत्र सपना भन्दा ठूलो पीडा हुन्छ।

    बिकाश:

    विदेश जानु नराम्रो होइन।
    तर आफ्नो देशमा सम्भावना खोज्न छोड्नु पनि हुँदैन।

    हामीले गाउँ छोड्ने होइन,
    गाउँ बदल्ने हो।

    गाउँलेहरू:

    हो! गाउँ बदल्ने हो!

    सासु:

    अब म पनि बुहारीलाई कराउने होइन, साथ दिने।

    बुहारी:

    अनि म पनि गाउँमै केही काम सुरु गर्छु।

    लक्ष्मण:

    म चाहिँ बेसार खेती गर्छु!
    बाँदरले खाँदैन, मान्छेले किन्छ!

    (सबै हाँस्छन्।)

    बिकाश:

    युवाहरू विदेशिन बाध्य नहुने दिन आउनुपर्छ।
    त्यसका लागि गाउँ, परिवार, समाज र राज्य सबै मिल्नुपर्छ।

    सबै:

    सुरक्षित वैदेशिक रोजगारी अपनाऔँ!
    स्वदेशमै सम्भावना खोजौँ!
    सीप, श्रम र उत्पादनलाई सम्मान गरौँ!

Comments

Popular posts from this blog

चलचित्रमा गीत-संगीतको महत्त्व

नेपाली चलचित्र उद्योगले २०२५ मा विविध विषयवस्तु र शैलीका नयाँ चलचित्रहरू प्रस्तुत गर्दैछ। यहाँ आगामी वर्षमा प्रदर्शनमा आउने केही प्रमुख नेपाली चलचित्रहरूको संक्षिप्त विवरण प्रस्तुत गरिएको छ: