गीतले १० करोड भ्यूज, दुर्गेशलाई प्रधानमन्त्रीको बधाई, चलचित्र विधेयक अघि बढ्यो!

"सपना देख्नेहरू धेरै हुन्छन्, तर ती सपना पूरा गर्न निरन्तर लागिपर्नेहरू नै इतिहास रच्ने गर्छन्। नेपाली सिनेमा पनि अब सपनाबाट यथार्थतिर अघि बढ्दैछ।"

"नमस्कार, तपाईंलाई स्वागत छ Cinema Nepal मा — जहाँ पाइन्छ नेपाली सिनेमा क्षेत्रका सबै ताजा खबर, चर्चा, र बिश्लेषण। म हुँ तपाईंको साथमा, बलकृष्ण खनाल। आउनुहोस्, आजका प्रमुख समाचारतिर लागौं।"

दुर्गेश थापाको लोकप्रिय गीतले युट्युबमा १० करोड भ्यूज प्राप्त गरेपछि सामाजिक सञ्जालमा खुसीयालीको लहर छाएको छ। प्रधानमन्त्रीले समेत दुर्गेशलाई बधाई दिएका छन्।
नेपालमै निर्माण भएको संगीतले यस्तो कीर्तिमान राख्नु गर्वको विषय हो। यसले नेपाली संगीतको अन्तर्राष्ट्रिय पहुँच पुष्टि गरेको छ।

नेपाली सिनेमा क्षेत्रका वरिष्ठ अभिनेता सुनील थापा, जो राते काइँला उपनामले चिनिन्छन्, उनले नयाँ फिल्म राम नाम सत्य मा साइन गरेका छन्।
‘चिनो’ जस्तो ऐतिहासिक फिल्मबाट खलनायकको भूमिकामा चिनिएका थापा फेरि एक पटक शक्तिशाली भूमिकामा फर्किन लागेका छन्।
उनको अभिनय र उपस्थिति सधैं नेपाली फिल्ममा विशेष मानिन्छ, र ‘राम नाम सत्य’मा उनको भूमिका निकै प्रतीक्षित रहेको छ।

लोकप्रिय टेलिश्रृङ्खला ‘मेरी बास्सै’की पात्र अप्सरा आमाको स्वास्थ्य अवस्था कमजोर भएको खबर आएको छ।
उहाँ लामो समयदेखि घरमै थलिनु भएको छ। उहाँले नेपाली टेलिभिजनको हास्य विधामा अतुलनीय योगदान दिनुभएको थियो। Cinema Nepal परिवार उहाँको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछ।

सरकारले चलचित्र क्षेत्रको लागि नयाँ विधेयक अगाडि सारेको छ। यो विधेयकमा सेन्सर प्रक्रिया, कलाकारको हकहित, र चलचित्रको बजेट पारदर्शिताको कुरा समेटिएको छ।यो विधेयक लागू भएमा नेपाली फिल्म उद्योगमा कानुनी स्पष्टता र व्यावसायिकता बढ्ने अपेक्षा गरिएको छ।
प्रतिभाशाली अभिनेता विपिन कार्की राजनैतिक मञ्चमा देखिएका छन्। उनी रास्वपाको कार्यालयमा पुगेका थिए र रवि लामिछानेको पक्षमा हस्ताक्षर गरेका छन् भन्ने खबर सार्वजनिक भएको छ।
हालसम्म कलाकारहरू राजनीति देखिएका उदाहरण धेरै छन्, तर विपिनको सक्रियता दर्शकमा नयाँ बहसको विषय बनेको छ।

अब लागौ आजका प्रसङ्ग हरु लाई बिस्तृत रुपमा जानकारी लिन तर्फ 
‘दुश्मन हेरेको हेर्‍यै’ गीतले युट्युबमा १० करोड भ्यूज पाएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले यसका सर्जक दुर्गेश थापालाई बधाई दिएका छन् ।
आइतबार बेलुका प्रधानमन्त्री ओलीले सामाजिक संजाल पोस्टमार्फत दुर्गेशलाई बधाई दिएका हुन् । ‘नयाँ पिँढीले बेग्लै स्वादका गीतसंगीतमा रुचि देखाउन थालेको दुश्मन हेरेको हेर्‍यै गीतबाट थाहा हुन्छ’ प्रधानमन्त्रीले भनेका छन् ।
‘दुर्गेश थापाको यो गीत सुन्नेको संख्या पाँच महिनामा १०० मिलियन (१० करोड) पुगेको छ । गीतका सर्जक दुर्गेश थापालाई बधाई’ प्रधानमन्त्रीले लेखेका छन् ।
दुर्गेशले पनि प्रधानमन्त्रीको उक्त स्टाटस सेयर गर्दै आफ्नो सिर्जनात्मक यात्रामा ऐतिहासिक प्रेरणा थपिएको बताएका छन् । वरिष्ठ संगीतकार सुरेश अधिकारीले प्रधानमन्त्रीको बधाईको हकदार दुर्गेश मात्र नभएर सबै संगीतकर्मी र सर्जक रहेको बताएका छन् ।
पछिल्लो समय प्रधानमन्त्री ओलीको दल नेकपा एमालेले आयोजना गर्ने कार्यक्रममा पनि नयाँ पुस्ताका कलाकारले प्रस्तुति दिन थालेको देखिएको छ । यति मात्र होइन, सरकारले हालै दरबारमार्गमा गरेको कार्यक्रममा पनि नयाँ पुस्ताका ब्याण्ड र कलाकारले प्रस्तुति दिएका थिए ।

साउनअन्तिम साताबाट छायांकनमा जान लागेको फिल्म ‘राम नाम सत्य’को अहिले कलाकारको छनोट कार्य चलिरहेको छ । सँगै, प्रि-प्रोडक्सन चरणका अन्य काम भैरहेका छन् ।
फिल्ममा विराज भट्ट, सुशिल श्रेष्ठ, दिब्या रायमाझी र सुपुष्पा भट्ट तय छन् । यो क्रममा फिल्ममा अभिनेता सुनिल थापा ‘रातेकाइँला’ अनुबन्धित भएका छन् ।
निर्देशक माइकल चन्दले थापालाई यसपटक भिन्न गेटअपमा देखाउने तयारी भएको बताए । उनले भने, ‘सुनिल दाइलाई दर्शकले यसअघि यस्तो अवतारमा देख्नु भएको थिएन । हामी, उहाँलाई विल्कुलै फरक अवतारमा देखाउँदैछौ । जुन अवतारले दर्शकलाई पनि सरप्राइज दिन्छ ।’
फिल्मलाई लभस्टोरी, एक्सन, रोमान्स, सस्पेन्स शैलीमा बनाउने तयारी छ । अभिनेता सुशिल ‘परिवर्तन’ नामक फिल्मको सेटबाट फर्किएसँगै वर्कसप सुरु हुने निर्देशक चन्दले बताए ।
माइकल इन्टरटेन्मेन्ट हाउसको ब्यानरमा बन्ने फिल्ममा उपेन्द्र शाही, श्वेता विमली, उत्तम गुरुङको लगानी हुनेछ । डीआर उपाध्याय, टी आर गौडेल र नरेन्द्र शाह कार्यकारी निर्माता हुन् ।

चर्चित टिभी श्रृंखला ‘मेरी बास्सै’मा अप्सरा आमा पात्रबाट चर्चित कलाकार लक्ष्मी श्रेष्ठ थलिएकी छन् । स्तन क्यान्सर लगायतका रोगबाट पीडित उनी बिरामी भएकी हुन् ।
दशैंदेखि बिरामी भएकी उनलाई ४ महिनाअघि भक्तपुर क्यान्सर अस्पतालमा भर्ना गरिएको थियो । बीचमा घर र अस्पताल आउने जाने गरेपनि अहिले भने अस्पतालले फिर्ता पठाइदिएको परिवारले जनाएको छ ।
उनी अहिले कपन बालुवाखानीस्थित घरको ओछ्यानमा थलिएकी छन् । छोरीले स्याहारसुसार गरिरहेकी छन् । दुई सातादेखि कठिन भएको र औषधि छुटाइसकेको बताइएको छ ।
झोल खानेकुराबाहेक खाना खान पनि छाडेकी छन् । उनकै इच्छाअनुसार अहिले कलाकार धमाधम उनको घरमा पुगेर भेटिरहेका छन् ।
लक्ष्मीले ‘मेरी बास्सै’ श्रृंखलामा अप्सरा आमाको भूमिका निर्वाह गरेकी थिइन् । उनले सीतराम कट्टेल धुर्मुसले निर्वाह गरेको खड्काजीको श्रीमती अप्सरा आमाको रोल निर्वाह गरेकी थिइन् ।
खड्काजी र अप्सरा आमाको रोल सिरियलका दर्शकमाझ चर्चित बनेको थियो । लामो समयदेखि कलाकारितामा सक्रिय लक्ष्मीले जिरे खुर्सानी, कान्छीसहितका टिभी तथा वेब सिरिज, म्युजिक भिडियो र फिल्ममा अभिनय गरेकी छन् ।
केही दिनअघि कलाकार कट्टेल र उनकी पत्नी तथा कलाकार कुञ्जना घिमिरे लक्ष्मीलाई भेट्न घरमा पुगेका थिए । कलाकार सुशिला निरौला विमलीले पनि भेटेकी थिइन् ।
आफूले काम गरेका कलाकारलाई भेट्ने इच्छा गरेपछि लक्ष्मीकी छोरीले सबैलाई आमाको फोटो पठाएकी थिइन् । त्यसपछि कलाकार उनीसँग भेट्न घरमा पुगेका हुन् ।
राजाराम पौडेल, सुरवीर पण्डित, रवी डंगोल लगायतका कलाकारले पनि भेटिसकेका छन् ।

चलचित्र विधेयक संसदीय प्रक्रियामा अघि बढेको छ । राष्ट्रिय सभामा आज यो विधेयकमाथि माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत हुँदैछ ।
राष्ट्रिय सभाको बैठक बिहान ११ बजे बस्दैछ । जहाँ सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले ‘चलचित्र विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम छ ।
यो विधेयक उनै मन्त्री गुरुङले १४ वैशाख २०८२ मा राष्ट्रिय सभामा दर्ता गरेका थिए । यही जेठ ६ गते विधेयकमाथि सैद्धान्तिक छलफल भएको थियो । अब विचार गरियोस् भन्ने प्रस्तावमाथि छलफल भएपछि सांसदहरूले संशोधन प्रस्ताव दर्ता गर्ने समय पाउँछन् ।
राष्ट्रिय सभा नियमावली अनुसार सांसदहरूलाई विधेयकमाथि संशोधनका लागि ७२ घण्टाको समय प्राप्त हुन्छ । सांसदहरूको संशोधन र प्रस्तावित विधेयक एकै ठाउँ राखेर दफावार छलफल गरेर सभाले विधेयक अगाडि बढाउँछ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका अनुसार विक्रम संवत् २०२६ सालमा बनेको चलचित्र ऐनलाई समयसापेक्ष परिमार्जन गर्ने गरी विधेयक ल्याइएको छ ।
चलचित्र ऐनलाई समावेशी एवम् संघीय संरचना र नयाँ प्रविधिअनुरूप बनाउन विधेयक ल्याइएको विधेयकमै उल्लेख छ ।
विधेयकको उद्देश्य र कारणमा भनिएको छ, ‘चलचित्र क्षेत्रलाई सामाजिक, सांस्कृतिक र मनोरञ्जनात्मक उद्योगको रुपमा विकास गर्न, चलचित्र मार्फत देशलाई पर्यटन गन्तव्यको रुपमा अगाडि बढाउन, स्वदेशी तथा विदेशी चलचित्र प्रदर्शन गर्नु अघि चलचित्र जाँच गर्ने व्यवस्था गर्न तथा स्वदेशी चलचित्रको विकास, विस्तार, प्रवर्धन र नियमन गर्न आवश्यक भएकोले ‘चलचित्र सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न यो विधेयक बनेको हो ।’
अब यो विधेयकमाथि दफावार छलफल सभामै वा संसदीय विषयगत समितिमा हुन्छ । दफावार छलफलपछि विधेयक पारित गर्ने प्रक्रियामा जान्छ ।
राष्ट्रिय सभाले प्रक्रिया पुरा गरेर विधेयक पारित गरेपछि प्रतिनिधि सभामा जान्छ । प्रतिनिधि सभाले पारित गरेपछि पुन: राष्ट्रिय सभामा जान्छ ।
राष्ट्रिय सभाले प्रतिनिधि सभामा भएको संशोधन स्वीकार गरेको खण्डमा विधेयक सभाध्यक्ष हुँदै राष्ट्रपतिकहाँ पुग्छ । राष्ट्रपतिले प्रमाणीकरण गरेपछि विधेयक ऐनमा बदलिएर कार्यान्वयनमा आउँछ ।
अभिनेता विपिन कार्कीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को कार्यालयमा पुगेर पार्टीले संचालन गरिरहेको रवि लामिछानेबारेको हस्ताक्षर अभियानमा भाग लिएका छन् ।

आइतबार रास्वपा कार्यालय पुगेर ‘रवि लामिछानेमाथि भएको राजनीतिक प्रतिशोधविरुद्ध जनताको हस्ताक्षर अभियान’मा विपिनले हस्ताक्षर गरेका हुन् । आइतबार दिउँसो कार्यालय पुगेर आफूले हस्ताक्षर गरेको विपिनले अनलाइनखबरलाई बताए ।
पार्टीको तेस्रो स्थापना दिवसको अवसरमा रास्वपाले ७ असारदेखि अभियान संचालन गरिरहेको छ । विपिन अभिनित पछिल्लो फिल्म ‘ऊनको स्वीटर’ले घरेलु बक्सअफिसमा १० करोडभन्दा धेरै रकमको टिकट विक्री गरेको छ ।

"यही थिए आजका मुख्य खबरहरू Cinema Nepal बाट। तपाईंलाई कुन समाचारले सबैभन्दा बढी छोयो? तल कमेन्ट गरेर बताउन नबिर्सनु होला।
यो कार्यक्रम मन परेमा लाइक, सेयर, र सब्सक्राइब गर्नुस्।
हामी हरेक दिन बेलुकी ६ देखि ८ भित्र तपाईंलाई फिल्मी दुनियाँको ताजा समाचार ल्याइरहनेछौं।
अहिलेलाई म बलकृष्ण खनाल बिदा हुन्छु, फेरि भेटौंला अर्को रमाइलो एपिसोडमा।
धन्यवाद, जय नेपाल, जय नेपाली सिनेमा!"


Comments

Popular posts from this blog

नेपाली चलचित्र उद्योगले २०२५ मा विविध विषयवस्तु र शैलीका नयाँ चलचित्रहरू प्रस्तुत गर्दैछ। यहाँ आगामी वर्षमा प्रदर्शनमा आउने केही प्रमुख नेपाली चलचित्रहरूको संक्षिप्त विवरण प्रस्तुत गरिएको छ:

नेपालमा चलचित्र छायांकन का लागि शीर्ष १० आकर्षक स्थानहरू

चलचित्रमा गीत-संगीतको महत्त्व