"जोसुकै हुनुस्– किसान, शिक्षक वा कलाकार – सफलता सबैका लागि सम्भव छ। हरेक बिहान नयाँ आशा लिएर उठ्नुस्, किनभने सानो प्रयास पनि ठूलो परिवर्तनको सुरुवात हुन सक्छ।"
नमस्कार, यो हो Cinema Nepal – तपाईंको आफ्नै फिल्मी संसार।
आज हामी लिएर आएका छौं नेपाली फिल्म क्षेत्रका ५ ठूला हेडलाइनहरू:
-
अनमोल केसी र फिल्म ‘फर्की फर्की’ विरुद्ध अदालतमा मुद्दा
-
खगेन्द्र लामिछाने र वर्षा राउतको फिल्म ‘हर्ष’ १२ मंसिरमा
-
चलचित्र ‘सतीदेवी’ को विशेष प्रदर्शन सम्पन्न
-
१६ जना कलाकारलाई ईनास राष्ट्रिय सम्मान
- ‘ए मेरो हजुर ५’मा अनमोल केसी अनुबन्धित
-
📰 Main News – विस्तारमा समाचारहरू:
1️⃣ अनमोल केसी र फिल्म ‘फर्की फर्की’विरुद्ध मुद्दा दायर
आफ्नो फोन नम्बर दुरुपयोग गरेको भन्दै साहित्यकार नरेन्द्रबहादुर श्रेष्ठले अभिनेता अनमोल केसी र उनको फिल्म ‘फर्की फर्की’को टिमविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेका छन्।
उक्त फिल्ममा आफ्नो फोन नम्बर दुरुपयोग गरिएको र यसले आफूलाई मानसिक र शारिरिकरुपमा हानी पुगेको उनले दायर गरेको रिटमा उल्लेख छ । उनले वारेसमार्फत सोमबार मुद्दा दायर गरेका हुन् ।
काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठले यसबारे जानकारी दिए ।
दायर रिटमा श्रेष्ठले आफ्नो मोबाइल नम्बर दुरुपयोग गरिएको र एमएसएम ओटीटी प्लाटफर्मबाट मोबाइल नम्बर हटाउन आग्रह गर्दा पनि नहटाएकाले कार्वाहीको माग गरिएको छ ।आफूलाई मानसिक तथा शारिरीक रुपमा हानिनोक्सानी भएको भन्दै उनले उचित क्षतिपूर्तिको माग राखेका छन् ।
रिटमा अभिनेता केसी, निर्देशक सुयोग गुरुङ, चलचित्र जाँच समिति, निर्माता रोहित अधिकारी लगायतलाई विपक्षी बनाइएको छ । उनीहरूलाई कानून अनुसार सजायको माग गरिएको छ ।
यसबारे चलचित्र नियामक निकायलाई पटकपटक पत्र पठाएर जानकारी गराए पनि सुनुवाइ नभएपछि मुद्दा दायर गरिएको पनि रिट निवेदनमा उल्लेख छ ।
2️⃣ खगेन्द्र र वर्षाको ‘हर्ष’ १२ मंसिरमा रिलिज हुने
खगेन्द्र लामिछाने र वर्षा राउतको शीर्ष भूमिका रहेको फिल्म ‘हर्ष’को प्रदर्शन मिति तय भएको छ । निर्माताले सोमबार टाइटल भिडियो सार्वजनिक गर्दै मंसिर १२ देखि फिल्म आउने जनाएका हुन् ।
यो फिल्मको निर्देशन एकता पौडेलले गरेकी हुन् । पौडेलले टाइटल भिडियोको सुरुवातमा नै यो फिल्म दिवंगत निर्देशक शिव रेग्मीप्रति समर्पित रहेको उल्लेख गरेकी छन् ।चितवनमा छायांकन भएको यो फिल्मको अहिले पोस्ट-प्रोडक्सन भैरहेको छ । फिल्ममा नीर शाह, सन्तोष पन्त, शर्मिला मल्ल, माओत्से गुरुङ, विशाल पहाडी, निमा पाण्डे, लुनिभा तुलाधर, अंशु महर्जन, रेणु प्रधान, सुवर्ण थापा, सृष्टि महर्जन, संगिता नापितको पनि अभिनय छ ।
अष्टलक्ष्मी प्रोडक्सन्स र ई-प्राईम मुभिजको ब्यानरमा निर्माण भएको फिल्मको पटकथा निर्देशक पौडेलले लेखेकी हुन् । पारिवारिक सामाजिक कथावस्तुमा बनेको फिल्मको निर्माता प्रसन्न पौडेल र विकास पौडेल हुन् । कार्यकारी निर्मातामा हिक्मत चोखाल छन् ।
3️⃣ चलचित्र ‘सतीदेवी’ को विशेष प्रदर्शन सम्पन्न
नारी चेतना, सामाजिक यथार्थ र मानवीय संवेदनालाई उजागर गर्ने चलचित्र ‘सतीदेवी’ को सुर्खेतमा आइतबार विशेष प्रदर्शन गरिएको छ । लक्ष्मी चलचित्र मन्दिरमा आयोजित शोमा कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल, प्रदेशका ऊर्जा मन्त्री विजया बुढा,वीरेन्द्रनगर नगरपालिकाकी प्रमुख मोहनमाया ढकाल लगायतको उपस्थिति थियो ।
चार सयभन्दा बढी दर्शकको साथमा चलेको विशेष शोले हलमा उपस्थित सबैलाई भावुक बनायो। नगर प्रमुख ढकालले सतीदेवी हेरेपछि मन गह्रौँ भएको बताइन् । उनले महिलाको सङ्घर्ष, समाजले गर्ने विभेद, किशोरीहरूको भावना,सबै दृश्यहरू हाम्रै जीवनको ऐना बनेर प्रस्तुत भएको बताइन् । ढकालले फिल्मको सिक्वेलमा सफल महिलाको कथा देखिनुपर्ने सुझाव पनि दिइन् । निर्देशक लक्ष्मण सुवेदीले फिल्मपछि प्रतिक्रिया दिँदै भने,“म आफैँ कर्णालीको हुँ, आफ्नै ठाउँमा आफ्ना दर्शकसँग बसेर फिल्म हेर्दा त्यो आत्मीयता अधिक थियो। आगामी प्रोजेक्ट यही प्रदेशमा छायाङ्कन गर्न चाहन्छु।"
4️⃣ १६ जनालाई ईनास राष्ट्रिय सम्मान – क-कसले पाए?
अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (ईनास) को अमेरिका च्याप्टरले विभिन्न क्षेत्रमा योगदान पुर्याउने १६ व्यक्तिलाई ‘ईनास राष्ट्रिय सम्मान २०२५’ प्रदान गरेको छ । अमेरिकामा रहेर नेपाली भाषा, संस्कृति, खेलकुद, व्यवसाय, समाजसेवामा योगदान पुर्याउनेहरूलाई सम्मान गरेको हो ।
फिल्ममार्फत मानवअधिकार र संस्कृति प्रवर्द्धनमा योगदान दिने पूर्णसिंह बराइली, ललित कलाकार राजेन्द्र केसी, उदीयमान गायिका आश्रा कुँवर, प्रतिभावान दृष्टिविहिन सुजन ढकाल, संस्कृति प्रवर्धनमा सक्रिय संस्था ‘नेपाल पासा पुचः अमेरिकाय’लाई ईनास राष्ट्रिय सम्मान २०२५ प्रदान गरियो ।
गीतकार तथा साहित्यकार अम्बिका गुरुङ, स्वयमसेवकको रुपमा सक्रिय रुबी पौडेल र अपेक्षासिंह परियार, समाजसेवी विजया शाह, उद्यमी तथा समाजसेवी अमर छन्त्याल, नृत्य कोरियोग्राफर नवीन केसी, पत्रकार तथा अधिकारवादी सच्ची मैनाली, तेक्वान्दो खेल प्रवर्धनमा सक्रिय दम्पती कुमार र कल्पना कार्की, वरिष्ठ गायक प्रकाश श्रेष्ठ, पार्कर खेलाडी दिनेश सुनाम र फिल्म अभिनेत्री दिव्या रायमाझीलाई ईनास अमेरिका राष्ट्रिय सम्मान २०२५ प्रदान गरिएको थियो ।कार्यक्रममा ईनास अमेरिकाका अध्यक्ष राहुल केसीको र ग्लोबलकी संरक्षक नीता श्रेष्ठको, स्थानीय राज्य निकायका तर्फबाट सिनेटर, डेलिगेट्स, बिभिन्न संघसंस्थाका पदाधिकारी सहभागी थिए ।अमेरिकामा जन्मिएको पछिल्लो पुस्तादेखि नेपालबाट त्यहाँ पुगेको अघिल्लो दुवै पुस्ता कार्यक्रममा सहभागी रहे । कार्यक्रममा फिल्म ‘तेल भिसा’ र वेब–सिरिज ‘घर बट इन अमेरिका’को टिमलाई सम्मान प्रदान गरिएको थियो ।अमेरिका र विभिन्न युुरोपेली मुलुकबाट पुगेका कलाकारलाई प्रमाणपत्रसहित सम्मान प्रदान गरिएको थियो । बालकलाकारले हिमाल, तराई, पहाड झल्काउने आकर्षक नृत्य प्रस्तुत गरेका थिए । राष्ट्रिय कलाकारको सामूहिक गायन प्रस्तुतिले श्रोता, दर्शकलाई भरपुर मनोरञ्जन प्रदान गरेको कार्यक्रममा इनास ग्लोबलका प्रवक्ता प्रकाश तिवारीले संस्था स्थापनाको उद्देश्य र इतिहासबारे जानकारी दिएका थिए ।
- ‘ए मेरो हजुर ५’मा अनमोल केसी अनुबन्धित दर्शकले अनमोल केसी र सुहाना थापाको जोडीलाई ‘ए मेरो हजुर’को पाँचौ श्रृंखलामा देख्न पाउने भएका छन् । निर्माता र अभिनेता केसीबीच सोमबार लिखित सम्झौता भएको छ ।
निर्माता सुनिलकुमार थापाले पाँचौ श्रृंखलाको शीर्ष भूमिकामा अनमोललाई अनुबन्धित गरिएको बताए । केसीले पनि सामाजिक संजालमार्फत यसबारे जानकारी दिएका छन् ।‘लामो समयको विश्रामपश्चात एउटा नयाँ अध्यायको सुरुवात गर्दैछु । म हजुरहरूमाझ जेरी अन टप, बाटुलो जुन र ए मेरो हजुर ५मार्फत नेपाली चलचित्र उद्योगमा नयाँ जोशका साथ उपस्थित हुन लागेको खुसीको कुरा सुनाउन पाउँदा निकै उत्साहित र हर्षित छु’ अनमोलले लेखेका छन् ।
अनमोल र सुहानाले यो फिल्मको तेस्रो र चौंथो श्रृंखलामा पनि जोडी बाँधेका थिए । निर्माता थापाका अनुसार सहायक भूमिकामा अर्का एक नयाँ कलाकार पनि देखिनेछन् ।अनमोलले गर्न लागेको आगामी फिल्म ‘बाटुलो जुन’को छायांकनपछि मात्र यो फिल्मको सुटिङ सुरु हुनेछ । सुहाना इन्टरटेन्मेन्टको व्यानरमा निर्माण हुन लागेको फिल्मलाई झरना थापाले निर्देशन गर्नेछिन् ।
अनमोल शुक्रबारदेखि ‘बाटुलो जुन’को छायांकन सुरु गर्दैछन् । यो फिल्मको छायांकन करिब १० दिनसम्म चित्लाङमा हुनेछ । यसपछि, फेरि अनमोलले फिल्म ‘जेरी अन टप’को काम सक्नेछन् । यी दुवै फिल्म सकेपछि अनमोलले ‘ए मेरो हजुर ५’को छायांकन अगाडि बढाउनेछन् । अनमोलले फिल्मको तेस्रो र चौथो श्रृङ्खलामा काम गरिसकेका छन् ।
आजको एपिसोडमा हामीले देख्यौं– नेपाली सिनेमाको उज्यालो र छायाँ दुवै पक्ष।
एकातिर कानुनी विवाद र चुनौती छन् भने अर्कोतिर ‘हर्ष’, ‘सतीदेवी’, र ‘ईनास सम्मान’ जस्ता सकारात्मक समाचारहरूले उत्साह दिन्छन्। भोलि फेरि भेटौँला नयाँ समाचार, ट्रेलर र फिल्म अपडेटसहित।
म तपाईंको साथमा बलकृष्ण खनाल,
यसैगरी हेरिरहनुहोस् ‘Cinema Nepal’ – सत्य, सजीव र सिनेमा प्रेमीको आवाज।🎥 Like, Share, र Subscribe गर्न नभुल्नुहोला।
📢 तपाईंको प्रतिक्रिया कमेन्टमा लेख्नुहोस्।
🙏 धन्यवाद।
Comments
Post a Comment