“नमस्कार दर्शकवृन्द, स्वागत छ तपाईंलाई Cinema Nepal मा। म हुँ तपाईंको होस्ट, जीवन चौधरी। आजको भिडियोमा हामी नेपाली फिल्म उद्योगका पछिल्ला चलन, चुनौती, अवसर र नवप्रवेशीका कथा लिएर आएका छौं। यसबाहेक, नेपालमै पहिलोपटक हुन लागेको हरर फिल्म महोत्सव, फिल्म ‘किस्ने कहाँ छ ?’ को निर्माण घोषणा, महानायक राजेश हमालको नयाँ भुमिका र बनेपाको स्टुडियो माटो चोरी काण्डबारे पनि चर्चा गर्नेछौं। कृपया भिडियो अन्तिमसम्म हेर्न नबिर्सनुहोस्।”
Headline Samachar (शीर्ष समाचारहरू):
🎥 “फिल्म क्षेत्रमा टिक्न अभिनय मात्र होइन, धैर्यता र अनुशासन पनि चाहिन्छ,” – वरिष्ठ निर्माता–निर्देशकको धारणा।
👻 नेपालमै पहिलोपटक ‘हरर, काल्पनिक र लोककथा चलचित्र महोत्सव’ हुँदै – अक्टोबर ३१ देखि।
😂 कमेडी फिल्म ‘किस्ने कहाँ छ?’ को घोषणा – छिट्टै छायांकन सुरु।
🏐 महानायक राजेश हमाल ‘कर्णाली SVS’ का ब्रान्ड एम्बेसडर – महिला भलिबललाई अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याउने सपना।
🏗️ बनेपा फिल्म स्टुडियोको माटो चोरी प्रकरण – चलचित्र विकास बोर्ड आक्रोशित, प्रशासन मौन।
Samachar Bistarma (समाचार विस्तार):
1. 🎬 फिल्म क्षेत्रमा टिक्न कठिन छ, अभिनय मात्र काफी छैन
फिल्म क्षेत्रमा टिक्न अभिनय मात्रै काफी छैन म विगत लामो समयदेखि यो फिल्म क्षेत्रमा सक्रिय छु । विगतको तुलनामा केही वर्षयता हेर्दा, यो क्षेत्रमा नयाँ पुस्ताको आकर्षण र आगमन निकै बाक्लिँदै गएको देख्छु । त्यसरी भित्रिने नयाँ पुस्तामा काम गर्ने इच्छाशक्ति प्रचुर छ, जुन एउटा सुखद र राम्रो पक्ष मान्न सकिन्छ । कलाकारिता, निर्माण, निर्देशनदेखि प्राविधिक पक्षसम्म पनि राम्रा व्यक्तिहरूको आगमन भइरहेको छ । तर, प्राविधिकभन्दा कलाकारितामै धेरै भित्रिएका पाइन्छ ।फिल्म क्षेत्रमा भित्रिनेहरूको मुख्य आकर्षण के हो ? वास्तवमा, उनीहरू केको ‘फोकस’मा आउन चाहन्छन् ? लाइमलाइटमा देखिन चाहन्छन् कि अन्य । ती विविध कुरा छन् । हरेक मान्छेको एउटा ‘प्यासन’ हुन्छ । कसैलाई आर्मी अफिसर बन्ने रहर हुन्छ, कसैलाई व्यापारी । त्यसै गरी कसैको डाक्टर र पाइलट । कलाकारितामा प्यासन भएकाहरूको अन्तिम लक्ष्य अहिले फिल्म हो । थिएटर हुन् वा बाहिरबाट भित्रिएका किन नहुन् । त्यो फिल्मको तिर्सनाले नै उनीहरूलाई यो क्षेत्रमा ल्याउँछ जस्तो लाग्छ । कतिपय त एउटा फिल्म हिट हुने बित्तिकै चर्चित भइन्छ, नाम कमाइन्छ भन्ने अपरिपक्व सोच लिएर पनि आउँछन् र आएका छन् पनि । तर जब उनीहरू सफल हुन्छन्, तब मात्रै जिम्मेवारीबोध हुन्छ । ‘अब अर्को चलचित्र फ्लप हुनुहुँदैन’ भन्ने दबाबले उनीहरूलाई गम्भीर बनाउँछ । सुरुमा आउँदा अधिकांशमा अपरिपक्व सोच नै हाबी भएको देखिन्छ । मैले फिल्म ‘बाँसुरी’देखि नै नयाँ कलाकारलाई डेब्यु गराउन थालेको हुँ । अहिलेसम्म थुप्रै कलाकारलाई डेब्यु गराएँ । कतिलाई ल्याएँ, त्यसको लेखाजोखा मैले राखेको छैन, सरसर्ती हेर्दा धेरै देखिन्छन् । हाम्रो समय र अहिले भित्रिनेमा आधारभूत भिन्नता भने छ । हाम्रो पालामा कलाकारका लागि पैसा दोस्रो प्राथमिकतामा थियो । उनीहरूमा ‘म केही गरूँ, फिल्म क्षेत्रमा मेरो नाम होस्’ भन्ने भावना बलियो थियो । निर्देशकहरू पनि एउटा फिल्म निर्देशन गर्न पाए हुन्थ्यो भन्ने सोच्थे, पैसाको भन्दा पनि कामको महत्त्व थियो ।अहिले समय पूरै फेरिएको छ । अहिले आउनेहरूले नाम र दाम दुवैलाई बराबर महत्त्व दिइरहेका छन् । सबैजना व्यावसायिक भएका छन् । यो स्वाभाविक पनि हो । कताकता हेर्दा कामले महत्त्व पाउन छाड्ने त होइन भन्ने डर लाग्छ । हुन त पहिलेको तुलनामा अहिले यो क्षेत्रमा भित्रिन निकै सहज छ । हाम्रो पालामा वर्षमा तीन–चारवटा फिल्म मुस्किलले बन्थे, त्यसैले नयाँले अवसर पाउन गाह्रो थियो । अहिले एकैपटक २०–२५ वटा फिल्म बनिरहेका हुन्छन् । पुराना कलाकार व्यस्त हुँदा नयाँले कतै न कतै अवसर पाइहाल्छन् ।अवसर मात्र होइन, चुनौती हो कतिपयले फिल्म क्षेत्रमा भित्रिनेहरूको यो भीडलाई चुनौती भनेका छन् । मेरो विचारमा यो चुनौती होइन, ठुलो अवसरको रूपमा लिन्छु । लगानी गर्ने, काम गर्न खोज्ने र रहर बोकेर आउनेहरूको सङ्ख्या बढ्नु भनेको उद्योग स्थापित हुनु, पहिलेभन्दा बृहत् बन्नु हो । पहिलेभन्दा अहिले हाम्रो उद्योग धेरै व्यवस्थित भइसकेको छ । ओभरसिज र डिजिटल राइट्सबाट राम्रो पैसा आउन थालेको छ । बक्सअफिस प्रणालीले पारदर्शिता बढाएको छ, जसले गर्दा लगानीकर्तालाई सहज भएको महसुस हुन्छ । त्यसो त यसले कतिपय अवस्थामा जस्ता पनि फिल्म निर्माणको क्रम बढ्यो । विकृति भित्रियो भन्नेहरू पनि छन् । त्यो हो पनि । तर, कुनै पनि निर्माता–निर्देशक नराम्रो फिल्म बनाउँछु भनेर आएका हुँदैनन् । उनीहरूको नजरमा त्यो राम्रै फिल्म हो । तर, मेरो विचारमा, हाम्रो मौलिक, सांस्कृतिक कथामा बनेका फिल्महरू अहिलेसम्म असफल भएका छैनन् । दर्शकले के खोजिरहेका छन् भन्ने कुराको अध्ययन गरेर फिल्म बनाउँदा सफलताको सम्भावना बढी हुन्छ ।कसरी टिक्ने ? फिल्म क्षेत्रमा भित्रिने नवप्रवेशीको भिडले सङ्ख्या मात्र बढाएको छैन, यसले गुणस्तर पनि निश्चय नै बढाएको छ । तर, एउटा तीतो सत्य के हो भने, आज पनि दुई–चार जनाबाहेक कलाकारिताकै कमाइले मात्रै जीवन धान्न सक्ने अवस्था छैन । धेरैजसोले ‘साइड बिजनेस’ गर्नैपर्छ, र गरिरहेका अवस्था हो । बेलाबेलामा मिडियामा पनि ’साइड बिजनेसमा कलाकार’ शीर्षकमा समाचार पढ्न पाइन्छ । फिल्ममा भित्रिने नयाँहरूमा सबैभन्दा कमी धैर्यताको देख्छु । उनीहरू छिटोभन्दा छिटो परिणाम खोज्छन् । तर, फिल्म लामो यात्रा हो । यसमा धैर्यता, साहस र सङ्घर्ष चाहिन्छ । यहाँ धैर्यता भएका केही मात्रै छन् । त्यसैले हामीजस्ता पुरानाले उनीहरूलाई सिकाउने भनेकै धैर्यता हो । थिएटर र फिल्मको अभिनयमा के फरक छ, क्यामेरा अगाडि कसरी प्रस्तुत हुने, सफलता पाएपछि त्यसलाई कसरी बोकेर हिँड्ने भन्ने कुराहरू सिकाउँछौँ । त्यो जरुरी छ ।फिल्म क्षेत्रमा टिक्न र बिक्न प्रतिभा हुनुपर्छ भन्ने गरिन्छ । यसले मात्र पुग्दैन । प्रतिभा धेरैसँग हुन सक्छ । तर टिक्न र बिक्न गुण पनि चाहिन्छ । यो क्षेत्रमा भित्रिने कलाकार होस् वा अन्य, सबैभन्दा पहिले असल मानिस हुनुपर्छ । सामाजिक छवि राम्रो बन्नु र बनाउनुपर्छ । आफूमा बडप्पन छैन भने पनि त्यो ओढ्नुपर्छ । कतिपय प्रतिभा भएर पनि कलाकार पछि परेका छन् । ती केही पहिले बताएको कुराको अभावले पछि परेका हुन् । उनीहरू सार्वजनिक रूपमा आफ्नो छविलाई कसरी प्रस्तुत गर्ने भन्नेमा सचेत हुनुपर्छ । विवादबाट टाढा रहनुपर्छ । किनभने दर्शकले कलाकारलाई धेरै माया गर्छन्, त्यसको सम्मान गर्नुपर्छ । रिसाएर कहिल्यै पनि नराम्रो व्यवहार गर्नुहुँदैन । विशेषगरी, राजनीतिक कुरामा बाठो भएर बोल्नुहुँदैन, किनकि कलाकार सबैको साझा हो । राजनीतिक कुरामा टाठोबाठो बन्न खोजेर यहाँ धेरै कलाकार र फिल्म डुबेका छन् । सरल जीवन जिउनुपर्छ । कतिपय कलाकारमा फिल्म रिलिज भएपछि म स्टार भएँ भन्ने घमण्ड हुन्छ । अब बसमा हिँड्नुहुँदैन भन्ने सोच आउँछ । यस्तो सोच राख्नुहुँदैन । जति सामान्य मान्छे भएर अघि बढ्यो, त्यति नै दर्शकका प्रिय भइन्छ, आफूलाई पनि सहज हुन्छ र अगाडि बढ्न सकिन्छ ।नव–प्रवेशीलाई सन्देश धेरै कलाकार किन छिट्टै हराउँछन् ? मुख्य कारण धैर्यताको कमी, गलत कथा छनोट र कहिलेकाहीँ घरायसी समस्या हो । फिल्म क्षेत्र नबुझ्ने, बाहिरको झिलिमिली देखेर आकर्षित हुने र सङ्घर्ष गर्न नसक्नेहरू लामो समय टिक्दैनन् । त्यसैले यो क्षेत्रमा भित्रिनेहरूका लागि म विशेष सोच र तयारीका साथ आउन अनुरोध गर्छु जो यो क्षेत्रमा आउन चाहनुहुन्छ, उहाँहरूलाई मेरो सल्लाह छ, ‘पहिला आफैँलाई सोध्नुस्, म फिल्ममा किन आउन चाहन्छु ?’ जब तपाईं आफैभित्रबाट चित्तबुझ्दो उत्तर पाउनुहुन्छ, तब मात्रै अघि बढ्नुस् । सुरुका दुई–तीनवटा कदम सफल हुनैपर्छ, त्यसका लागि आवश्यक परे पर्खिनुस् । तर जहिले पनि असफलता मिल्छ, केही गर्न सकिँदैन भन्ने होइन । ‘लामो रेसको घोडा बन्छु’ भन्ने सोचले आउनुपर्छ । त्यसरी आउँदा सुरुका समय केही गाह्रो होला । सफलताले उसैको कदम चुम्ने हो ।फिल्म क्षेत्रमा मैले नजिकबाट नियाल्दा अहिले जो–जो कलाकार लामो समयदेखि सक्रिय छन्, उनीहरू किन र कसरी चले, कसरी टिकिरहे, कसरी अगाडि बढिरहेका छन्, उनीहरूको राम्रो पक्ष के हो ? भनेर अध्ययन र अनुसन्धान गरेर मात्रै यो क्षेत्रमा प्रवेश गर्नुभयो भने सफलता टाढा छैन । मेरो विचारमा फिल्म क्षेत्रमा योग्यता लागू हुँदैन । कलाकारितामा भित्रिनेको न्यूनतम योग्यता त संवाद पढ्न सक्ने हुनुपर्‍यो, बाँकी त लगाव र मेहनतले नै सिकाउँछ । फिल्म क्षेत्रमा टिक्न र बिक्न खारिएर आउनुपर्छ भन्ने मलाई लाग्दैन ।
👻 नेपालमै पहिलोपटक ‘हरर, काल्पनिक र लोककथा चलचित्र महोत्सव’ हुँदै – अक्टोबर ३१ देखि।
 नेपालमा पहिलो पटक हरर चलचित्र महोत्सव ! नेपालमा पहिलो पटक हरर, काल्पनिक र लोककथा चलचित्र महोत्सव आयोजना हुने भएको छ । अन्तर्राष्ट्रिय रूपमा मनाइने पर्व हेलोवीनको अवसरमा अक्टोबर ३१ देखि नोभेम्बर २ सम्म महोत्सव आयोजना हुन लागेको महोत्सवका निर्देशक रसिक पाठकले बताए । उनका अनुसार, नेपालमा यी विधाका चलचित्र खासै नबन्ने र दर्शकले हेर्न पनि नपाउने अवस्था भएकाले नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले महोत्सव मार्फत यस्ता विद्याका चलचित्रहरूलाई देशमा प्रचार प्रसार गर्न आयोजना गर्न लागिएको हो । नेपालमा यस्ता चलचित्र निमार्णका लागि महोत्सवले थप वातावरण बनाउन सजिलो बनाउने उनको विश्वास छ । नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानद्वारा नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल (नीफ) को सह–आयोजनामा महोत्सव हुन लागेको पाठकले बताए । महोत्सव गर्नुको मुख्य उद्देश्य भनेको नेपालमा हरर, काल्पनिक र लोककथामा आधारित चलचित्रहरूलाई प्रवर्द्धन गर्ने र यी विधाहरूका लागि दर्शकहरू बढाउन मद्दत गर्ने लक्ष्य राखेको पाठकको भनाई थियो । महोत्सवमा अन्तर्राष्ट्रिय प्रतिस्पर्धा मात्रै हुनेछ भने सो प्रतिस्पर्धा अन्तर्गत उत्कृष्ट फिचर फिल्म, सर्ट फिल्म, साउथ एसियन फिल्म र यूथ फिल्म लाई पुरस्कृत गर्ने आयोजकले जनाएको छ । यसका साथै चलचित्रहरूको लागि आवेदन पनि खुल्ला गरिएको पाठकको भनाई छ ।
😂 कमेडी फिल्म ‘किस्ने कहाँ छ?’ को घोषणा – छिट्टै छायांकन सुरु।
फिल्म ‘किस्ने कहाँ छ ?’ निर्माणको घोषणा कमेडी जनरामा फिल्म ‘किस्ने कहाँ छ ?’ बन्ने भएको छ । निर्माण युनिटले फिल्मको एक थिम पोस्टर सार्वजनिक गर्दै निर्माण घोषणा गरेको हो । पोस्टरमा एउटा गाडी हिलो बाटोमा रोकिएर बाटोमा काम गर्दै गरेको मान्छेसँग कुरा गर्दै गरेको देख्न सकिन्छ । फिल्मको कथा, पटकथा र संवाद लेखक विनयराज पौडेलले तयार पारेका हुन् । ग्रीन प्यारोट्स फिल्म प्रोडक्सनको ब्यानरमा निर्माण हुने फिल्म हेमन्त बस्नेतले निर्माण गर्न लागेका हुन् । फिल्मको कार्यकारी निर्माता ईश्वरवल्लभ उप्रेती रहेका छन् । निर्देशक बस्नेतका अनुसार फिल्मको छायाङ्कन छिट्टै सुरु हुनेछ । कलाकार छनोटको भइरहेको छ । 
🏐 महानायक राजेश हमाल ‘कर्णाली SVS’ का ब्रान्ड एम्बेसडर – महिला भलिबललाई अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याउने सपना।
राजेश हमाल कर्णाली एसभीएसको ‘ब्रान्ड एम्बेस्डर’ एभरेस्ट महिला भलिबल लिग (इडब्लुभीएल) को दोस्रो सिजनका लागि कर्णाली एसभीएसले महानायक राजेश हमाललाई आफ्नो ब्रान्ड एम्बेसडरको रूपमा अनुबन्धित गरेको छ । कर्णाली एसभीएसका व्यवस्थापक लोकेन्द्र गिरी र अभिनेता हमालबिच शनिबार सम्झौता पत्रमा हस्ताक्षर भएको हो कर्णाली एसभीएसले अभिनेता हमाल जस्तो दिग्गज व्यक्तिलाई आफ्नो ब्रान्ड एम्बेसडरको रूपमा पाउनु गौरवको कुरा भएको बताए । त्यस्तै महानायक हमालले कर्णाली एसभीएसले नेपाली महिला खेलाडीहरुलाई हौसला प्रदान गर्ने अवसर दिनु भएकोमा खुसी व्यक्त गरे ।हमालले आफूले पनि जीवनका विभिन्न चरणमा भलिबल खेलेको स्मरण गर्दै भने भलिबल एउटा राष्ट्रिय खेल हो । यसका माध्यमबाट हाम्रा चेलीहरूले विश्वमा एउटा छुट्टै स्थान बनाउन सक्नेछन् । हमालले गत वर्षको च्याम्पियन टोली कर्णाली एसभीएसले यो वर्ष पनि बाजी मार्ने विश्वास व्यक्त गरे ।कर्णाली एसभीएसले बिहीबार मात्रै प्रशिक्षकको रूपमा कुमार राई र मार्की खेलाडी सुमित्रा रेग्मीलाई यो वर्ष पनि निरन्तरता दिएको छ । पहिलो संस्करणको विजेता समेत रहेको कर्णालीले दोस्रो संस्करणमा मार्की खेलाडी सुमित्रा रेग्मीलाई निरन्तरता दिएको हो ।दोस्रो संस्करणको एभरेस्ट महिला भलिबल लिग इन्फिनिटी ड्रिम्सको आयोजनामा आगामी भदौ २० गतेदेखि २८ गतेसम्म हुनेछ।
🏗️ बनेपा फिल्म स्टुडियोको माटो चोरी प्रकरण – चलचित्र विकास बोर्ड आक्रोशित, प्रशासन मौन।
 बनेपा फिल्म स्टुडियोको माटो अवैधरुपमा बेचबिखन, तत्काल रोक्न पत्र माटो निकाल्दै गरेको सूचना पाएपछि बोर्ड अध्यक्ष दिनेश डीसी आफै केही दिनअघि उक्त स्थानमा पुगेका थिए । ‘रातीराती माटो निकालेर अन्यत्र लगेर बेच्ने गरेको रहेछ । हाम्रो एरियाको टुप्पाको डाँडातिरको सबै माटो लगिसक्या छ’ अध्यक्ष डीसीले भने ।बनेपामा निर्माणाधिन ‘सिनेपाः फिल्म स्टुडियो’को जग्गालाई अतिक्रमण र उत्खनन गरेर त्यहाँको माटो अन्यत्र विक्री गर्ने गरेको पाइएको छ ।रातको समयमा माटो निकालेर स्थानीय हाउजिङ, प्लटिङ र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा लैजाने गरेको पाइएको हो ।प्रधानमन्त्रीले स्टुडियो शिलान्यास गरेपछि केही समय रोकिएको त्यहाँको माटो चोरेर अन्यत्र लैजाने कार्य रोकिए पनि पछिल्लो ३ दिनयता यस्तो कार्य पुनः सुरु भएको चलचित्र विकास बोर्डले जनाएको छ ।अहिले बनेपा १० र १३ मा पर्ने ४२ रोपनी जग्गामा स्टुडियो निर्माण कार्य सुरु भएको छ । त्यहाँको भौगोलिक अवस्था मात्र होइन, टेलिकमको टावर लगायत वरपरका संरचनालाई जोखिम तुल्याउने गरि डोजर लगाएर माटो निकाल्ने काम भइरहेको हो ।माटो निकाल्दै गरेको सूचना पाएपछि बोर्ड अध्यक्ष दिनेश डीसी आफै केही दिनअघि उक्त स्थानमा पुगेका थिए । ‘रातीराती माटो निकालेर अन्यत्र लगेर बेच्ने गरेको रहेछ । हाम्रो एरियाको टुप्पाको डाँडातिरको सबै माटो लगिसक्या छ’ अध्यक्ष डीसीले भने ।बनेपा १० का वडाध्यक्ष चन्द्र खड्काले पनि आफूहरूको अनुमति बिना स्थानीय केही व्यक्तिले माटो निकालेको बताए । उनले तत्काल यो कार्यलाई रोक्न भन्ने अनलाइनखबरलाई बताए ।स्थानीय विष्णु थापाले सार्वजनिक बाटो बनाउँछु भनेर आफूसँग मौखिकरुपमा कुरा गरेर गएको तर स्टुडियो क्षेत्रको माटो झिकिएको कुरा बोर्डको उजुरीपछि थाहा पाएको वडाध्यक्ष खड्काले बताए । ‘हामीले लिखितरुपमा कसैलाई माटो झिक्ने अनुमति दिएका छैनौं’ वडाध्यक्ष खड्काले भने ।माटो झिक्ने कार्य तत्काल रोक्न आग्रह गर्दै बोर्डले जिल्ला प्रशासन कार्यालय, प्रहरी, वन कार्यालय र वडामा निवेदन दिइसकेको छ । तर, सबै पक्षले सरकारी जग्गा संरक्षणमा बेवास्ता गरेको अध्यक्ष डीसीले बताए ।‘सीडीओलाई दुईतीनपटक भन्यौं । उहाँहरुबीच समन्वय नभएको देखियो । विकास बोर्डको काम हो भनेर पन्छिन खोजेजस्तो देखियो । सरकारी जमिन मिच्ने र अतिक्रमणको काम हेर्ने स्थानीय प्रशासन र वडाको हो’ डीसीले भने ।प्रशासन र प्रहरीले नजरअन्दाज गरेपछि शक्तिकेन्द्रको दबाबमा माटो लैजाने कार्य सुरु भएको बोर्डले बताएको छ । ‘प्रहरी प्रशासनले यो कार्यलाई नजरअन्दाज गरिरहेको छ’ अध्यक्ष डीसीले भने ।माटो खोस्रिने मान्छेलाई बोर्डले अख्तियारमा समेत उजुरी दिने भएको छ । जिल्ला प्रशासन कार्यालय काभ्रेका सहायक सीडीओ तथा सूचना अधिकारी सुदर्शन श्रेष्ठले यसबारे आफूलाई थाहा नभएको बताए ।गत दशैंमा माटो उत्खनन गर्दा स्थानीयबासी समेत आक्रोशित थिए । त्यसपछि केही समय उत्खनन रोकिएको थियो । तर, अहिले पुनः सुरु भएपछि जोखिम बढेको हो ।बैशाख ३० गते प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा आयोजित समारोहमा उक्त स्टुडियो निर्माणको औपचारिक घोषणा गरेका थिए ।बनेपा नगरपालिकाको वडा १० र १३ को ४२ रोपनी जग्गामा अत्याधुनिक इन्डोर छायांकन स्टुडियो निर्माण हुन लागेको हो । सन् २०२६ भित्र निर्माण पुरा हुने लक्ष्य राखिएको स्टुडियोको बजेट ३९ करोड नेरु छ । ठेक्का प्रक्रिया स्वीकृत गरेसँगै अहिले निर्माण प्रक्रिया सुरु भएको छ ।

“आजको Cinema Nepal को विशेष प्रस्तुति यहीँसम्म। नेपाली फिल्म क्षेत्रका खबरहरू तपाईंको माझ निरन्तर ल्याइरहनेछौं। कृपया लाइक, कमेन्ट, सेयर गर्न नबिर्सनुहोला, र हाम्रो च्यानल Sangam Film and Production House लाई सब्सक्राइब गर्न पनि। म जीवन चौधरी, फेरि भेटौँला अर्को रोचक सामग्रीसहित। नमस्कार।”

Comments

Popular posts from this blog

संकल्प लामिछानेको परदेसि फर्की आउनेकी नामक गित को भिडियो शार्बजनिक

नेपाली चलचित्र उद्योगले २०२५ मा विविध विषयवस्तु र शैलीका नयाँ चलचित्रहरू प्रस्तुत गर्दैछ। यहाँ आगामी वर्षमा प्रदर्शनमा आउने केही प्रमुख नेपाली चलचित्रहरूको संक्षिप्त विवरण प्रस्तुत गरिएको छ:

नेपालमा चलचित्र छायांकन का लागि शीर्ष १० आकर्षक स्थानहरू