नमस्कार!
चलचित्र केवल पर्दामा देखिने कथा मात्र होइन — त्यो हाम्रो जीवनको भाव, सम्झना र संघर्षको प्रतिबिम्ब हो। सिनेमा कहिले हाँसो दिन्छ, कहिले आँसु झार्छ, अनि कहिले हामीलाई हाम्रो अस्तित्व सम्झाउँछ।
म बलकृष्ण खनाल, स्वागत गर्छु तपाईंलाई Sangam Film & Production House को प्रस्तुति, Cinema Nepal मा — जहाँ सिनेमा सुन्ने होइन, महसुस गरिन्छ।


चलचित्र ‘काजी’को शुभमुहूर्त, आइतबारदेखि छायाङ्कन हुने

लक्ष्मण रिजालको निर्देशन रहने चलचित्र ‘काजी’को शुभमुहूर्त गरिएको छ । शुक्रबार दक्षिणकाली मन्दिरमा क्यामेरा तथा स्क्रिप्ट पूजा गर्दै चलचित्रको शुभमुहूर्त गरिएको हो ।आगामी आइतबारदेखि स्याङ्जाबाट छायाङ्कन सुरु हुने चलचित्रमा विपिन कार्की, केकी अधिकारी, गरिमा शर्मा लगायतका कलाकारको अभिनय रहने छ । आरएण्डआर प्रोडक्सनको ब्यानरमा निर्माण हुने फिल्म सोसल लभस्टोरी चलचित्रलाई रामप्रसाद रिजालले निर्माण गर्न लागेका हुन् ।चलचित्रका लागि स्याङ्जामा एउटा गाउँको सेट नै निर्माण गरिएको छ ।प्रदीप भारद्धाजको लेखन रहेको चलचित्रमा चिन्तनराज भण्डारीको छायाङ्कन, कालीप्रसाद बास्कोटाको गीतसङ्गीत रहेको छ । चलचित्र सुनिल मानन्धरको श्रीराम बालाजी फिल्मस्ले वितरण गर्नेछ ।

चलचित्र ‘जनै हराएको मान्छे’लाई दर्शकको राम्रो साथ र प्रतिक्रिया

आजै (शुक्रबार)बाट प्रदर्शनमा आएको चलचित्र ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ बुबालाई देखाउन कलाकारले अनुरोध गरेका छन् । चलचित्र बाबुछोराको भावनात्मक कथामा बनेको भन्दै दर्शकलाई कलाकारहरू यस्तो अनुरोध गरेका हुन् ।कलाकार विजय बराल, केकी अधिकारी, मिरुना मगर, गौरव पहाडी, भोलाराज सापकोटा लगायत फिल्म कलाकार शुक्रबार उपत्यकाको लाविम महल, सिटी स्क्वायर, सिभिल महल, एफक्युब लगायत हलमा पुगेर दर्शकसँग साक्षत्कार समेत गरेका छन् ।सो क्रममा दर्शकले फिल्मले बुवाआमालाई सम्झाएको, नोस्टाल्जिक बनाएको प्रतिक्रिया दिएको अभिनेता विजय बरालले बताए ।‘चलचित्रले बुबाआमाको खुसीका लागि छोराले गर्ने संघर्षको कथा छ’, बिजयले भने ‘सायद यो भन्दा ठूलो उपहार बुबाका लागि अर्काे के होला र ।’अभिनेत्री केकीले छोरीहरूले चाहेर पनि बुवा, भाइ तथा माइतीका लागि केही गर्न नसक्ने फिल्मले देखाएको बताइन् ।‘हाम्रो समाजमा कति आफ्नै आर्थिक अवस्था कमजोर हुँदा र कतिपय अवस्थामा सामाजिक परिवन्धले माइतीलाई सहयोग गर्ने अवस्था हुँदैन,’ केकी भन्छिन्, ‘जनै हराएको मान्छेमा बुवासँग कसरी छोरी छुटेर टाढा पुग्छिन् र भाइसँगको सम्बन्ध कस्तो रहन्छ भन्ने देखाइएको छ ।’अभिनेत्री मिरुना मगरले चलचित्रले समाजको यथार्थ चित्रण गरेको बताइन् । चलचित्र सबैले आफ्नो कथामा भएको महसुस गर्ने बताइन् ।चलचित्रले शुक्रबार दर्शकको राम्रो साथ पाउनुका साथै उत्कृष्ट प्रतिक्रिया समेत पाएको छ । चलचित्र हेरेका दर्शकले बुबाआमालाई सम्झाएको र भावुक बनाएको प्रतिक्रिया दिएका छन् ।चलचित्रमा विजय, केकी, मिरुनाको अलवा शुशांक मैनाली, भोलाराज सापकोटा, गौरव पहाडी, रियर राई, भावना खपांगी मगर, रुपेश लामा, सुमन थापालगायतको अभिनय छ । हिमाल न्यौपाने निर्देशित चलचित्रका निर्माता कमल न्यौपाने र विमल न्यौपाने हुन् । कार्यकारी निर्मातामा नारायण तिमिसिना, चुडामणि सिवाकोटी, आरके मानन्धर, सीआर बस्नेत, फिलिप डिसी र जेम्स महाराजन रहेका छन् ।

‘सकम्बरी’ बाट फिल्ममा कमब्याक गर्दै जीवन लुइँटेल

नाटक ‘शिरीषको फूल’ बाट थियटर डेब्यु गरेका अभिनेता जीवन लुइँटेलले ७ वर्षपछि फिल्ममा पनि कमब्याक गर्ने भएका छन् । कान्तिपुर फिल्म एकेडेमीले निर्माण गर्न लागेको ‘सकम्बरी’ बाट उनले फिल्ममा कमब्याक गर्ने भएका हुन् ।फिल्मका लागि कान्तिपुर फिल्म एकेडेमीले बुधबार जीवनसँग लिखित सम्झौता समेत गरेको छ । अभिनेता अर्पण थापाको समेत अभिनय रहने फिल्मको निर्देशकबारे आउँदो साता जानकारी दिइने एकेडेमीका सीइओ प्रकाश पुरीले बताए । तिहारपछि छायाङ्कन हुने फिल्मको अहिले प्रिप्रोडक्सन भइरहेको छ । पारिजातको चर्चित पुस्तक ‘शिरीषको फूल’ का पात्रबाट प्रभावित भएर फिल्म बनाउन लागिएको हो । फिल्ममा जीवनले सुयोगवीर र अर्पणले शिवराजको चरित्र निर्वाह गर्नेछन् ।

माग्ने राजा, जनै हराएको मान्छे र ताराहरूको ओपनिङ अकुपेन्सी कस्तो छ ?

केदार घिमिरे स्टारर ‘माग्ने राजा’, विजय बराल स्टारर ‘जनै हराएको मान्छे’ र आशान्त शर्मा स्टारर ‘ताराहरू’ शुक्रबारदेखि नेपालका हलमा प्रदर्शनमा आएका छन् ।सोसल-कमेडी ‘माग्ने राजा’लाई ऋषि लामिछानेले निर्देशन गरेका हुन् । केदारसहित वर्षा सिवाकोटीको शीर्ष भूमिका रहेको फिल्ममा निर्देशक कमेडीमार्फत सामाजिक मुद्दाहरूमा आक्रोश पोखेका छन् ।शुक्रबार बिहान र मध्यान्हमा यो फिल्मको देशब्यापी अकुपेन्सी २० देखि ३० प्रतिशत हाराहारीमा थियो । अपरान्ह, बेलुका र रात्री शोजमा अकुपेन्सी अनुपातमा वृद्धि हुने देखिन्छ ।१४९ मिनेट रनटाइमको यो फिल्म केदारको पहिलो लिड फिल्म हो । ऋणको बोझले थिचिएको मुख्य पात्रले आफ्नो सपना पुरा गर्न गर्ने संघर्ष र यथार्थको कथावस्तुमा फिल्म बनेको छ ।विजयसहित मिरुना मगर र केकी अधिकारीको शीर्ष भूमिका रहेको ‘जनै हराएको मान्छे’ले प्रिमियरमा सकारात्मक प्रतिक्रिया प्राप्त गरेको छ । यो फिल्मको विहानी र मध्यान्हको देशब्यापी अकुपेन्सी १० देखि २० प्रतिशत हाराहारीमा देखिन्छ ।बेलुकी र रात्रीकालिन शोको अकुपेन्सीमा वृद्धि हुने देखिन्छ । यसको रनटाइम १४३ मिनेट छ ।आशान्त शर्माको ‘ताराहरू’को देशब्यापी ओपनिङ निकै न्यून छ । कूल ३० हाराहारीका शोसहित रिलिज भएको यो फिल्मलाई ठूला मल्टिप्लेक्सले न्यून शो दिएका छन् ।आशान्तसहित मेनुका प्रधान, मीरा खड्का, कुन्दन शाक्यको अभिनय रहेको यो फिल्मको रनटाइम १४९ मिनेट छ ।

तीज म्युजिक अवार्ड : प्रकाश र मधु सर्वोत्कृष्ट गायक-गायिका

२१ विधामा ‘म्युजिक खबर तीज म्युजिक अवार्ड २०८२’ प्रदान गरिएको छ ।अभिनेत्री लक्ष्मी गिरीलाई विशिष्ट नारी सम्मान प्रदान गरियो । अभिनेत्री दीपाश्री निरौला र गायिकाद्वय मन्जु थापा र हरिमाया गुरुङलाई नारीरत्न सम्मान प्रदान गरिएको छ ।सांसद रेखा यादव, चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसी, अवार्ड अध्यक्ष सविता पोखरेल, पत्रकार शान्तिप्रिय लगायतले सम्मान प्रदान गरे ।सर्वोत्कृष्ट तीज दोहोरी गायकको अवार्ड ‘म त माइत जाने हो’बाट प्रकाश कटुवाल र तीज दोहोरी गायिकाको अवार्ड ‘नाच्छु म बुरुक बुरुक’बाट मधु रसाइलीले हासिल जिते ।सर्वोत्कृष्ट मौलिक तीज गीत गायिकाको अवार्ड ‘नाच्छ भने नाच्न दे’गीतबाट सरिता भारतीले हासिल गरिन भने सर्वोत्कृष्ट मौलिक तीज संगीतको अवार्ड ‘किन्दिने हो कल्ले ?’ गीतबाट दीपक शर्माले पाए ।सर्वोत्कृष्ट मौलिक तीज गीत शब्दको अवार्ड ‘आमा र माइतीको माया’बाट दीपक घिमिरेले प्राप्त गरे भने सर्वोत्कृष्ट तीज दोहोरी संगीतको अवार्ड ‘कस्की छोरी होला’बाट सचिन भट्टराईले प्राप्त गरे ।सर्वोत्कृष्ट गीत संयुक्त गायनको अवार्ड ‘सासुको तीज’ गीतबाट सुजाता केसी/एलिना चौहानले प्राप्त गरे भने सर्वोत्कृष्ट तीज दोहोरी शब्दको अवार्ड ‘सम्पत्ति कमाउन’बाट विष्णु न्यौपानेले पाए ।समारोहमा सर्वोत्कृष्ट तीज गीतको अवार्ड ‘छैन नि चोलिया’बाट मन्जु पौडेलले, मौलिक तीज गीत पब्लिक च्वाइस अवार्ड लक्ष्मी पुरी प्रधानले, म्यूजिक भिडियो महिला मोडल पब्लिक च्वाइस अवार्ड ज्योति खड्काले, पब्लिक च्वाइस अवार्ड मौलिक संगीतकारको अवार्ड विष्णु भण्डारीले हासिल गरे ।तीज गीत मौलिक संगीत संगीतकार जुरी अवार्ड संगीतकार रेशम चौधरीले, तीज गीत दोहोरी गायिका जुरी अवार्ड सन्जु न्यौपानेले हासिल गरे । नेपाली तीज गीतको प्रवर्धनको लागि आफूहरूले विगत चार वर्षदेखि शुभकामना मिडियाबाट यो अवार्ड आयोजना गर्दै आएको संस्थाका अध्यक्ष पोखरेलले बताइन् ।

जब पर्दा बन्द हुन्छ, चलचित्र सकिँदैन — त्यो त हाम्रो मनमा बाँचिरहन्छ।
नेपाली सिनेमा केवल कथा होइन, हाम्रो संस्कृति, भावना र पहिचानको प्रतिबिम्ब हो।

साथ दिइरहनुहोस् Cinema Nepal सँग —
जहाँ हरेक फ्रेममा हाम्रो अस्तित्व बोल्दछ।

म बलकृष्ण खनाल —
भोलि फेरि भेटौंला नयाँ सिने अपडेट र समीक्षासहित।
तबसम्मका लागि — जय सिनेमा, जय नेपाल!

Cinema Nepal: 'काजी'को शुभमुहूर्तदेखि ‘जनै हराएको मान्छे’को भावुक यात्रा, जीवन लुइँटेलको कमब्याकसम्म

Cinema Nepal को यस अङ्कमा स्वागत छ!
म बलकृष्ण खनाल, ल्याएको छु नेपाली सिने जगतका ताजा अपडेटहरू—चलचित्र ‘काजी’को शुभमुहूर्त र स्याङ्जाबाट सुरु हुने छायाङ्कन, ‘जनै हराएको मान्छे’ले पाएको दर्शकको मनछुने प्रतिक्रिया, अनि जीवन लुइँटेलको ‘सकम्बरी’ मार्फत ७ वर्षपछि भएको कमब्याक।
साथै, ‘माग्ने राजा’ र ‘ताराहरू’को ओपनिङ अकुपेन्सी रिपोर्टदेखि तीज म्युजिक अवार्ड २०८२ का प्रमुख विजेता सूचीसम्मका सम्पूर्ण जानकारी एकैसाथ।
नेपाली सिनेमा हेर्नुहोस्, महसुस गर्नुहोस् — किनभने यहाँ हरेक फ्रेममा हाम्रो अस्तित्व बोल्दछ।


Comments

Popular posts from this blog

नेपाली चलचित्र उद्योगले २०२५ मा विविध विषयवस्तु र शैलीका नयाँ चलचित्रहरू प्रस्तुत गर्दैछ। यहाँ आगामी वर्षमा प्रदर्शनमा आउने केही प्रमुख नेपाली चलचित्रहरूको संक्षिप्त विवरण प्रस्तुत गरिएको छ:

नेपालमा चलचित्र छायांकन का लागि शीर्ष १० आकर्षक स्थानहरू

चलचित्रमा गीत-संगीतको महत्त्व