“चलचित्र भनेको समाजको ऐना हो भनिन्छ, तर कहिलेकाहीँ यो ऐनामा देखिने प्रतिबिम्बले विवाद पनि जन्माउँछ । आजको सिनेमा नेपालमा हामी कुरा गर्दैछौं – सेन्सर बोर्डको कडाइ, नयाँ फिल्मको चहलपहल र लोकप्रिय टेलिभिजन शो किन रोकियो भन्नेबारे । अनि अन्त्यमा – एक पारिवारिक कथावस्तुमा बनेको नयाँ फिल्म ‘हर्ष’ को मर्मस्पर्शी ट्रेलरको चर्चा पनि गर्नेछौं । तयार हुनुहोस्, सुरु गरौं आजको ‘Cinema Nepal’!”
‘जेरी अन टप’ लाई स्पष्टीकरण सोध्ने र ‘कोशेढुंगा’ को प्रदर्शन रोक्ने सेन्सर बोर्डको निर्णय
प्रदर्शन नियम उल्लंघन गरेको पाइएको बताउँदै केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड) ले फिल्म ‘कोशेढुंगा’ को प्रदर्शन रोक्ने निर्णय गरेको छ ।
मंगलबार बसेको समितिको बैठकले उक्त फिल्मको सार्वजनिक प्रदर्शन रोक्का गर्न चलचित्र विकास बोर्डमा लेखिपठाउने निर्णय गरेको छ ।असोज २४ गते २४ घण्टाभित्र समितिमा स्पष्टीकरणको लिखित जवाफ पेश गर्न निर्देशन दिएपनि त्यसको पालना नभएको समितिको ठहर छ । सरोज पौडेल निर्देशित फिल्म हलमा भने प्रदर्शन भैसकेको छ ।
यसैबीच, अनुगमनको क्रममा प्रदर्शनको नियम पालना नगरेको पाइएको बताउँदै समितिले प्रदर्शनरत अनमोल केसी स्टारर फिल्म ‘जेरी अन टप’ लाई स्पष्टीकरण सोधेको छ ।स्पष्टीकरणको पत्र निर्मातालाई आजै पठाइएको र निर्माताबाट चित्त बुझ्ने जवाफ नआए आफूहरू कानूनी प्रक्रियामा अघि बढ्ने समिति सदस्य सम्पन्न श्रेष्ठले बताए ।
६ बुँदासहित समितिले ‘जेरी अन टप’का निर्मातालाई स्पष्टीकरण सोध्दै पत्र लेखेको छ ।
अश्लिल लाग्ने संवाद म्युट नगरिएको, धुमपान-मद्यपान हानिकारक छ भन्ने सन्देश नराखिएको, तोङ्बा खाएको दृश्यमा पनि सन्देश नलेखिएको, सबै सन्देश अंग्रेजी भाषामा रहेको तर कार्यविधिअनुसार नेपाली भाषामा हुनुपर्ने समितिको ठहर छ ।१७ कात्तिकमा सिटी सेन्टरको बिग मूभिज हलमा अनुगमन गर्दा उपरोक्त कुरा भेटिएको प्रतिवेदन अनुगमन समितिले समितिलाई पठाएको थियो ।
‘जारी २’ को अग्रिम टिकट बिक्री खुला, प्रारम्भिक शोज संख्या कति छ ?
शुक्रबारदेखि प्रदर्शन तयारीमा रहेको फिल्म ‘जारी २’ को एड्भान्स टिकट बिक्री नेपालका हलले खुलाउन थालेका छन् ।
प्रारम्भिक शोज तालिका हेर्दा मंगलबार अपरान्हसम्म फिल्मले देशब्यापी १२१ शोज पाएको छ । विहिबार बेलुकासम्म कम्तीमा २०० देखि ३०० हाराहारीमा शोज हुनसक्ने अनुमान गर्न सकिन्छ ।सोही दिन रिलिज हुने अर्को फिल्म ‘मन बिनाको धन’ले न्यून शो पाएको देखिन्छ । हलले एक/एक शोको अनुपातमा टंक बुढाथोकी निर्देशित फिल्मलाई शो दिएका छन् ।
यो शोज संख्या अन्तिम भने होइन, यसको लागि विहिबार बेलुकासम्म प्रतीक्षा गर्नुपर्ने हुन्छ ।‘जारी’ को दोस्रो श्रृंखलालाई लिएर तीव्र प्रतीक्षा छ । दुईवर्षअघि रिलिज भएको पहिलो भागले २ करोड १५ लाख नेरु ग्रसको ओपनिङ गरेको थियो । दोस्रो दिन शनिबारको कमाइ पनि २ करोडभन्दा माथि थियो ।
फिल्मको लाइफटाइम कलेक्सन १७ करोड ४८ लाख थियो ।
बक्सअफिस विरासत बोकेको ‘जारी’को दोस्रो श्रृंखलासँग दर्शकीय अपेक्षा पनि उत्तिकै छ ।
फिल्मको अन्तर्राष्ट्रिय वितरक सेभेन सिज इन्टरनेसनलले अन्तर्राष्ट्रिय रिलिज तालिका र विवरण सार्वजनिक गर्ने तयारी गरिरहेको छ ।वितरक रमेश ढकालले अमेरिका, युरोप, मध्यपूर्व र पूर्वी एसियाली मुलुकको हल, शोज संख्या सार्वजनिक हुने बताए ।
किन रोकियो 'कमेडी दरबार' ?
फिल्म छायाङ्कनमा जानुअघि केही एपिसोडहरू स्टकमा खिचिएका थिए । तर, छायांकनको अवधि लम्बिएपछि र तयार एपिसोडहरू सकिएपछि गत शुक्रबार नयाँ एपिसोड आउन नसकेको हो । ‘कमेडी दरबार’ टिमले सामाजिक सञ्जालमार्फत केही परिस्थितिका कारण नयाँ एपिसोड ल्याउन नसकेको जानकारी दिँदै अबको शुक्रबारदेखि भने नयाँ एपिसोड प्रसारण हुने जनाएको छ । फिल्म ‘ककाकिकी’का निर्देशक बिक्की अग्रवाल हुन् । फिल्ममा तृप्ती नाडकर, रेखा थापा, दीया मास्के, सुभास गजुरेल, महेश त्रिपाठी, सुवर्ण थापा लगायतका कलाकारको अभिनय छ ।
पारिवारिक कथावस्तुमा फिल्म ‘हर्ष’ को मर्मस्पर्शी ट्रेलर सार्वजनिक
एकता पौडेल निर्देशित फिल्म ‘हर्ष’ को ट्रेलर युट्यूबमा सार्वजनिक भएको छ ।
मंगलबार ललितपुरमा आयोजित पत्रकार सम्मेलनमा पारिवारिक कथावस्तुमा आधारित फिल्मको ट्रेलर प्रदर्शन गरियो ।ट्रेलरले कथावस्तु, चरित्र चित्रण लगायतका पक्षमा प्रकाश पारेको छ । छोराको विवाहपछि एक परिवारमा आउने उतारचढावको संक्षिप्त कथावस्तु ट्रेलरमा देखाइएको छ ।
कार्यक्रममा निर्देशक पौडेलले नेपाली फिल्ममा पारिवारिक कथाको ट्रेण्ड घट्दै गएकाले पनि आफूले यो विधा रोजेको बताइन् । उनी दिवंगत निर्देशक शिव रेग्मीकी भान्जी हुन् ।अमेरिकाको न्यूयोर्क फिल्म एकेडेमीमा फिल्म निर्माण अध्ययन तथा आमसंचारमा स्नातक र व्यवस्थापन तथा नेतृत्व विषयमा स्नातकोत्तर गरेकी निर्देशक पौडेलले यसअघि छोटा फिल्म निर्देशन गरेकी थिइन् ।
फिल्ममा खगेन्द्र लामिछाने, वर्षा राउत, नीर शाह, सन्तोष पन्त, शर्मिला मल्ल, खगेन्द्र, माओत्से गुरुङ, विशाल पहाडी, निमा पाण्डे, लुनिभा तुलाधर, अंशु महर्जन, रेनु प्रधान, सुवर्ण थापा, सृष्टि महर्जन, सिर्जना नापितको अभिनय छ ।आलोक शुक्लाको छायांकन, समीर र हिमाल, वसन्त सापकोटा तथा एलिस कार्कीको संगीत, लोकेश बज्राचार्यको सम्पादन, सुनिल क्षेत्री र निर्देशक पौडेलको नृत्य निर्देशन छ ।
अष्टलक्ष्मी प्रोडक्सन्स् र ई-प्राईम मूभिजको ब्यानरमा निर्माण भएको फिल्मको कथा स्वयं निर्देशक पौडेलको हो । प्रसन्न पौडेल र विकास पौडेल निर्माता तथा हिक्मत चोखाल कार्यकारी निर्माता हुन् ।
“फिल्म बन्ने मात्रै होइन, नियमन गर्ने हात पनि बलियो हुनुपर्ने रहेछ, ‘जेरी अन टप’ र ‘कोशेढुंगा’ ले त्यो स्मरण गराएको छ ।
उता ‘जारी २’ ले नेपाली सिनेमा बजार ताताएको छ भने ‘हर्ष’ ले पारिवारिक भावनाको सम्झना गराएको छ ।
यही विविधता हो – जसले नेपाली चलचित्र उद्योगलाई जिवन्त बनाउँछ ।
पछिल्लो खबर र विश्लेषणका लागि हेर्न नछुटाउनुहोस्,
‘Cinema Nepal’ — म बलकृष्ण खनाल, भोलि फेरि भेटौंला, नयाँ फिल्म र नयाँ चर्चा लिएर। नमस्कार!”
Comments
Post a Comment