आजको कार्यक्रममा हामी चर्चा गर्नेछौं – ट्रेलरमा चर्चा पाएको नयाँ फिल्म ‘आबाट आमा’, छायाङ्कन सकिएको फिल्म ‘पेन्सन पट्टा’, अनि चुनावी मैदानमा सक्रिय नेपाली कलाकारहरूको रणनीति। साथै, बलिउड अभिनेता इमरान हास्मीको नयाँ नेटफ्लिक्स सिरिज ‘तस्करी : द स्मगलर्स वेब’ ले विश्व स्तरमा बनाएको कीर्तिमान पनि।
त्यसैले, आजको भिडियो अन्तिम सम्म हेर्नु होला र च्यानल मा नयाँ हुनुहुन्छ भने सब्स्क्राइब गर्न पनि नबिर्सिनु होला
सुरु गरौ पहिलो खबर बाट
‘आबाट आमा’ को मर्मस्पर्शी ट्रेलर : बहुरुपी प्रेम र आध्यात्मिक सन्देशको कथा
फिल्म ‘आबाट आमा’ को ट्रेलर मुख्यतः तीन कथावस्तुबाट प्रेरित छ । पहिलो- मुख्य पात्र कृष्णको विदेशिन बाध्य परिस्थिती । दोस्रो- त्रिकोणात्मक प्रेम र बदला । तेस्रो- सन्तान र अभिभावकबीचको मर्मस्पर्शी सम्बन्ध ।यसबाहेक, ट्रेलर हेर्दा निर्देशक चन्द्र पन्तले यसलाई आध्यात्मिक र पौराणिक टच दिने प्रयास गरेका छन् । कृष्ण पात्रमार्फत निर्देशकले महाभारतको आयाम, पात्र र तिनको प्रवृत्तिलाई जोड्ने प्रयास गरेका छन् ।
शीर्ष पात्र कृष्णको भूमिकामा पल शाहले अभिनय गरेका छन् । प्रदीप रावत र विपना थापा आमाबुबाको भूमिकामा छन् । उषा उप्रेती ‘लभ इन्ट्रेस्ट’ र सिम्रन पन्त कृष्णलाई रुचाउने तर नपाएपछि बदला लिने भूमिकामा छिन् ।
समग्रमा ट्रेलरले कथावस्तुबारे संक्षिप्त प्रकाश पार्छ । यसअघि ‘ह्रस्व दीर्घ’ निर्देशन गरेका पन्तले ‘आबाट आमा’ मा पनि कतिपय स्वादलार्ई दोहोर्याउने प्रयास गरेको देख्न सकिन्छ ।प्रकाश कुवँर, ध्रुव न्यौपाने, क्षितिज ढुंगानाको लगानी रहेको फिल्म १६ माघमा प्रदर्शन तयारीमा छ ।
३३ दिनमा सकियो ‘पेन्सन पट्टा’को छायाङ्कन
निर्देशक गुरुङकै लगानी रहेको फिल्ममा दयाहाङ राई, सुनिल थापा, पशुपति राई, गौमाया गुरुङ, बुद्धि तामाङ, विल्सन विक्रम राई, सुनिल थापा, राज थापा काउछा, लुनिभा तुलाधर, विश्वास गुरुङ, माया गुरुङ, यासिली राईलगायतका कालाकारको अभिनय छ । फिल्मको कथा पनि निर्देशक गुरुङले नै लेखेका हुन् ।मीन कोन्मे गुरुङ (सिकलेस), भोज बहादुर गुरुङ (युके) र सपना गुरुङको लगानी रहेको फिल्ममा प्रोडक्सन म्यानेजरमा डिबी गुरुङ हुन् । सुशन प्रजापतिले खिच्ने फिल्ममा संगीत झुमा लिम्बु, मनोज थापा मगर र शिव बराइलीले तयार पारिरहेका छन् । फिल्म रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्मसले देशव्यापी वितरण गर्नेछ ।
पूर्व मिस नेपाल अनुष्का श्रेष्ठ रास्वपाबाट समानुपातिक उम्मेदवार बनेकी छन्। उनी आदिवासी जनजाति महिला क्लस्टरबाट समानुपातिक सूचीमा समेटिएकी हुन्। अहिलेसम्म उनी रास्वपामा रहेको कहीँकतै चर्चा थिएन, तर उनको नाम सूचीमा भने समेटिएको छ। उनले नेपालको प्रतिनिधित्व गर्दै ‘मिस वर्ल्ड २०१९’ मा पनि सहभागिता जनाएकी थिइन्, जहाँ उनी उत्कृष्ट १२ भित्र पर्दै ‘मिस वर्ल्ड ब्युटी विथ पर्पस’ र ‘मल्टिमिडिया’ को उपाधि नेपाल भित्र्याउन सफल भएकी थिइन्। श्रेष्ठ व्यवसायी पनि हुन्। उनी ‘माक्कुसे’ लक्जरी मिठाई ब्रान्डकी सञ्चालक हुन्। यो ब्रान्डले पुष्टकारी, गुँदपाक र कुकिज उत्पादन गर्छ।
गायिका तथा एमाले नेत्री कोमल वली पनि समानुपातिक उम्मेदवार बनेकी छन्। उनलाई नेकपा एमालेले समानुपातिक उम्मेदवार बनाएको हो। गत निर्वाचनमा दाङ–३ बाट प्रत्यक्ष उम्मेदवार बनेकी उनले पराजय बेहोरेकी थिइन्। उनी राष्ट्रिय सभाकी पूर्वसांसद पनि हुन्।लोकगायक रमेश प्रसाईं पनि समानुपातिकतर्फको उम्मेदवार बनेका छन्। उनी रास्वपाको खस–आर्य पुरुषतर्फबाट समानुपातिक उम्मेदवार बनेका हुन्। यसअघि कुनै राजनीतिक दलमा नदेखिएका प्रसाईं गायन र विभिन्न राजनीतिक टिप्पणीका कारण चर्चामा रहँदै आएका थिए।
लाइभ लोकदोहोरी गायनमा माहिर मानिएका प्रसाईंको लोकदोहोरी गीतका साथै पछिल्लो समय ‘रिङ्केबुङको राँगो’ बोलको गीत चर्चामा छ। प्रसाईं सामाजिक सेवामा पनि सक्रिय रहँदै आएका छन्।यो पटकको निर्वाचनमा कलाकर्मी समानुपातिक र प्रत्यक्ष दुवैतर्फ उम्मेदवार बनेका छन्। तर, उनीहरूलाई समेट्ने काम भने केही सीमित राजनीतिक दलले मात्र गरेका छन्। नेकपा एमाले, रास्वपा, गतिशील लोकतान्त्रिक पार्टी र उज्यालो नेपाल पार्टीले मात्र कलाकर्मीलाई उम्मेदवारका रूपमा समेट्ने काम गरेका छन्।
प्रत्यक्ष होस् वा समानुपातिक, सबैभन्दा धेरै कलाकर्मीलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उम्मेदवार बनाएको छ। रास्वपाले प्रत्यक्षतर्फ र्यापर बालेन शाह र अभिनेत्री आशिका तामाङलाई उम्मेदवार बनाएको छ भने समानुपातिकतर्फ गायक तथा अभिनेता प्रकाश सपुत, पूर्व मिस नेपाल अनुष्का श्रेष्ठ र गायक रमेश प्रसाईंलाई बनाएको छ।
त्यस्तै गतिशील लोकतान्त्रिक पार्टीले चर्चित अभिनेत्री निशा अधिकारीलाई प्रत्यक्षतर्फको उम्मेदवार बनाएको छ। नेकपा एमालेले गायिका कोमल वलीलाई समानुपातिक उम्मेदवार बनाएको छ। कुलमान घिसिङ संरक्षकत्वको उज्यालो नेपाल पार्टीले प्रस्तोता तथा अभिनेत्री रीमा विश्वकर्मालाई उम्मेदवार बनाएको थियो। उज्यालो र रास्वपा एकता हुँदा उनी उज्यालोबाट समानुपातिक उम्मेदवार बनेकी थिइन्। उज्यालो र रास्वपा एकता तोडिए पनि उनी रास्वपामै रहिन्।
देशको ठुलो राजनीतिक दल नेपाली कांग्रेस र नेकपा (माओवादी/समाजवादी) ले भने प्रत्यक्ष तथा समानुपातिक दुवैतर्फ कलाकर्मी समेट्न सकेका छैनन्। नेकपाले समेट्न नसक्नु त सामान्य भयो, तर देशको सबैभन्दा पुरानो, ठुलो, प्रजातान्त्रिक र सबैभन्दा धेरै कलाकर्मी भएको पार्टी नेपाली कांग्रेसले कलाकर्मीलाई समेट्न नसक्नुलाई सामान्य मान्न सकिन्न।
अझ नेपाली कांग्रेसमा युवा नेतृत्व आउँदा पनि कलाकर्मी नसमेटिनु दुःखद कुरा भएको नेपाली कांग्रेस निकट कलाकर्मीको संस्था नेपाल सांस्कृतिक महासंघका पूर्वमहामन्त्री गणेश सुवेदी बताउँछन्।
‘कांग्रेसले विगतदेखि नै कलाकर्मीलाई उपेक्षित गर्दै आएको छ। अहिलेको युवा नेतृत्वले त्यसमा ध्यान दिन्छ कि भन्ने सबै सांस्कृतिकर्मीहरूको अपेक्षा थियो,’ सुवेदीले भने, ‘यो पटक त्यसतर्फ ध्यान पुग्न सकेन। भविष्यमा नेतृत्वले त्यसतर्फ ध्यान पुर्याओस् भन्न चाहन्छु।’
इमरान हास्मीको ‘तस्करी’ बन्यो नेटफ्ल्क्सिको गैरअंग्रेजी विधातर्फ विश्वभर धेरै हेरिने सिरिज
बलिउड अभिनेता इमरान हास्मीको नयाँ सिरिज ‘तस्करी : द स्मगलर्स वेब’ ले नेटफ्लिक्समा एउटा यस्तो सफलता हात पारेको छ, जुन अहिलेसम्मका चर्चित भारतीय सिरिजले पनि पाउन सकेका थिएनन् ।
यो सिरिज नेटफ्लिक्सको विश्वव्यापी सूचीमा नम्बर १ नन-इंग्लिस (गैर-अंग्रेजी) शो बन्न सफल भएको छ । यो उपलब्धि हासिल गर्ने यो पहिलो भारतीय सिरिज बनेको छ ।यसअघि नेटफ्लिक्सका निकै सफल मानिएका भारतीय शो जस्तै ‘सेक्रेट गेम्स’ र सञ्जय लीला भन्सालीको ‘हीरामण्डी’ ले पनि यो उचाइ छुन सकेका थिएनन् । अहिले हाश्मीको यो सिरिजले ती सबैको रेकर्ड तोड्दै विश्वभर चर्चा कमाइरहेको छ ।
नेटफ्लिक्सको तथ्याङ्क राख्ने ‘टुडुम’ का अनुसार, नीरज पाण्डेद्वारा निर्देशित सिरिज ‘तस्करी : द स्मगलर्स वेब’ ले यो साता (जनवरी १२-१८) विश्वभरका गैर-अंग्रेजी भाषाका शोहरूको सूचीमा पहिलो स्थान ओगटेको छ ।सिरिजले साता ५४ लाख (५.४ मिलियन) भ्युज प्राप्त गरेको छ । यसले दोस्रो स्थानमा रहेको कोरियन रोमान्टिक कमेडी ‘क्यान दिस लभ बी ट्रान्सलेटेड ?’ लाई सहजै उछिनेको छ । उक्त कोरियन सिरिजले ४० लाख भ्यूज पाएको छ ।
इमरान हाश्मी अभिनित यो सिरिजले कोरियन शोलाई मात्र नभई विश्वका अन्य निकै चर्चित सिरिजलाई समेत पछि पारेको छ । ‘तस्करी’ ले प्राप्त गरेको ५४ लाख भ्यूजको अगाडि अन्य चर्चित शोको अवस्था यस्तो छ :
जुजुत्सु काइसेन (सिजन ३) : २८ लाख भ्यूज
अल्फा मेल्स : २६ लाख भ्यूज
द क्वीन अफ फ्लो : २५ लाख भ्यूज
यो साता नेटफ्लिक्सको विश्वव्यापी ‘टप १०’ सूचीमा पर्न सफल ‘तस्करी’ एक मात्र भारतीय सिरिज हो । अन्य कुनै पनि भारतीय शो यो हप्ता उत्कृष्ट १० को सूचीमा अटाउन सकेका छैनन्, जसले गर्दा यो सफलतालाई अझ विशेष मानिएको छ ।
सिरिजले विश्वव्यापी सफलता पाएपछि अभिनेता हाश्मीले खुसी व्यक्त गरेका छन् । उनले यसलाई आफ्नो टिमको कडा परिश्रमको नतिजा भएको बताए ।
उनले भने, ‘हामीले ‘तस्करी’ लाई इमानदारिताका साथ बनाएका थियौं । विशेषगरी हाम्रा विमानस्थलमा दिन-रात खटिने अधिकारीप्रतिको सम्मानलाई हामीले यो सिरिजमार्फत देखाउन खोजेका थियौं, जसले हामीलाई काम गर्ने ऊर्जा दियो । नेटफ्लिक्सको विश्वव्यापी सूचीमा नम्बर १ हुने पहिलो भारतीय सिरिज बनेको देख्दा निकै सन्तोष मिलेको छ ।’
उनले थपे, ‘संसारलाई पर्दामा उतार्न एउटा समर्पित टोलीको आवश्यकता थियो र दर्शकले यसलाई जुन प्रकारको माया दिनुभएको छ, म त्यसप्रति आभारी छु । यस्ता क्षणहरूले के सम्झाउँछन् भने, यदि कथामा इमानदारिता छ भने त्यसले देशको सीमा नाघेर टाढासम्मको यात्रा तय गर्छ ।’
"आज हामीले चर्चा गर्यौं:
-
‘आबाट आमा’ को ट्रेलर र कथा विश्लेषण
-
‘पेन्सन पट्टा’ को छायाङ्कन र तयारी
-
नेपाली कलाकारहरूको राजनीतिक सक्रियता
-
इमरान हास्मीको नेटफ्लिक्स सिरिजको विश्वव्यापी सफलता
"यदि तपाईंलाई हाम्रो प्रस्तुति मन पर्यो भने, channel subscribe गर्नुहोस्, bell icon दबाउनुहोस् र share गर्न नबिर्सनुहोस्। तपाईंको feedback comment मा लेख्नुहोस् – कुन कथा तपाईंलाई सबैभन्दा उत्कृस्ट लाग्यो?
‘Cinema Nepal’ सधैं तपाईंलाई ताजा, रोचक र विश्वसनीय मनोरञ्जन समाचार लिएर आउँदै रहनेछ। आज को भिडियो बाट बिदा दिनुस नमस्कार
Comments
Post a Comment